काठमाडौं । निर्वाचन आयोगले चुनावी प्रचारमा बालबालिकाको प्रयोग नगर्न निर्देशन दिएको छ । सोमबार आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै बालबालिकाको प्रयोग नगर्न आग्रह गरेका हुन् ।
निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (ट) मा निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने व्यवस्था छ ।
“निर्वाचन आचारसंहिताको उल्लंघन गरे आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न वा उमेदवारी रद्दसम्मको कारबाही गर्न सक्ने व्यवस्था समेत रहेको छ,” विज्ञप्तिमा भनिएको छ ।
शैक्षिक संस्थासँग सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा चुनावी प्रचारप्रसारमा संलग्न नहुन निर्देशन दिएको हो ।
आचारसंहिताको पूर्ण पालना गर्नु सरोकारवाला पक्षहरूको दायित्व रहेको र सबै राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षहरूले निर्वाचन आचारसंहिताको पूर्ण पालना भए नभएको विषयमा आयोगले अनुगमन गरिरहेको भन्दै केही प्राध्यापक, शिक्षक तथा कर्मचारी राजनीतिक दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको भनी आयोगमा उजुरी तथा गुनासो समेत प्राप्त भएको उल्लेख छ ।



प्रतिक्रिया