कुनै पनि बहानामा निर्वाचनको मिति सार्नु हुन्न : एमाले

कुनै पनि बहानामा निर्वाचनको मिति सार्नु हुन्न : एमाले



काठमाडौं । नेकपा (एमाले) ले निर्वाचनको मिति सार्ने षड्यन्त्र भइरहेको भन्दै आपत्ति जनाएको छ । मंगलबार पार्टी मुख्यालय च्यासलमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रचार विभाग संयोजक मीनबहादुर शाहीले निर्वाचनको मिति सार्ने हल्ला फिँजाइएको भन्दै त्यसबारे स्पष्ट पार्न पनि सरकारसँग माग गरे ।

“फागुन २१ गतेको निर्वाचन कुनै पनि बहानामा कुनै पनि विषय अगाडि सारेर निर्वाचन सार्ने जे हल्ला पिटाइँदैछ बजारमा,” उनले भने, “फागुन २१ गते कुनै पनि बहानामा निर्वाचन सर्नु हुँदैन ।”

निर्वाचनको मिति कुनै पनि बहानामा सार्न नहुने कुरामा एमाले दृढ रहेको उनको भनाइ छ । एमालेले निर्भयताका साथ निर्वाचनमा मतदान गर्ने वातावरण सुनिश्चित गर्न पनि सरकारलाई सचेत गराएको छ ।

“मतदाताहरूले स्वतन्त्र र निर्भीक ढंगले, भयरहित ढंगले मतदाताले मतदान गर्न पाउँछन् भन्ने अधिकारको सुरक्षित गर्ने काम, त्यो अधिकारलाई प्रत्याभूत गराउने काम सरकारको हो,” उनले भने ।