दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले उनलाई गैरकानुनी थुनामुक्त गर्न आदेश दिएको सूचना अधिकारी एवं उपरजिष्ट्रार निराजन पाण्डेले जानकारी दिए ।

यसअघि सोमबार न्यायाधीशहरू नहकुल सुवेदी र मेघराज पोखरेलको इजलासले निर्वाचन आयोगले कारबाही गर्न भनेर प्रहरीलाई पठाएको निर्णयसहितको सक्कल फाइल झिकाउन आदेश दिएको थियो । प्रसाईंले जिल्ला प्रहरी परिसर काठमाडौंलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

परिसरले सर्वोच्चमा दिएको लिखित जबाफमा आफूहरूले निर्वाचन आयोगले फागुन ४ गते पठाएको पत्र अनुसार पक्राउ गरेको उल्लेख थियो ।

निर्वाचन आयोगको पत्रपछि परिसरको टोलीले प्रसाईंलाई फागुन ४ गते पक्राउ गरेको थियो।