काठमाडौं । गैरआवासीय नेपालीहरूले आगामी प्रतिनिधिसभाको चुनावमा नेपाली कांग्रेसको समर्थनमा संयुक्त अपिल सार्वजनिक गरेका छन् । उनीहरूले निर्वाचनलाई केवल नियमित राजनीतिक प्रक्रिया नभई देशलाई अस्थिरता, निराशा र गहिरिँदो असन्तोषबाट बाहिर निकाल्ने अवसरको रूपमा व्याख्या गरेका छन् ।
अपिलमा सेप्टेम्बर २०२५ यता देखिएको जेन–जीपुस्ताको आक्रोश, निराशा र राजनीतिक विद्रोहले मुलुकलाई असामान्य अवस्थामा पुर्याएको उल्लेख गर्दै आगामी निर्वाचनले लोकतान्त्रिक वैधता, राजनीतिक स्थायित्व र राष्ट्रिय भविष्यलाई पुनः परिभाषित गर्ने क्षमता राख्ने जनाइएको छ । लामो समयदेखि सरकार परिवर्तन, नीतिगत अस्थिरता, कमजोर कार्यान्वयन र भ्रष्टाचारका कारण जनता थकित भएको भन्दै अब युवापुस्ता आश्वासन होइन, ठोस परिणाम खोजिरहेको उल्लेख गरिएको छ ।
गैरआवासीय नेपालीहरूले २१ फागुनपश्चात् गठन हुने प्रतिनिधिसभा संख्याको खेल मात्र नभई सक्षम, अनुभवी, जिम्मेवार र जनभावनाको सशक्त प्रतिनिधि बन्नुपर्नेमा जोड दिएका छन् । सुशासन, भ्रष्टाचारमुक्त समाज, पारदर्शिता, रोजगारी सिर्जना र सुरक्षित भविष्य सुनिश्चित गर्न संसद्को भूमिका निर्णायक हुने उनीहरूको भनाइ छ ।


प्रतिक्रिया