निर्वाचन सुरक्षाको प्रबन्ध मिलाउन सरकारलाई आयोगले पठायो पत्र

निर्वाचन सुरक्षाको प्रबन्ध मिलाउन सरकारलाई आयोगले पठायो पत्र



काठमाडौं । निर्वाचन आयोगले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गर्न सोहीअनुसारको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई सातबुँदे पत्र पठाएको छ ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट निर्वाचन सुरक्षा योजनाको समीक्षा, सुरक्षा वस्तुस्थितिको आकलन तथा सुरक्षा व्यवस्थासम्बन्धी मार्गदर्शन तथा सिफारिस समेतका आधारमा आवश्यक व्यवस्था मिलाउन मन्त्रालयलाई पत्र पठाएको हो ।

आयोगले फागुन १८ गते राति १२ बजेदेखि लागु हुने निर्वाचन प्रचारप्रसार निषेध अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिने जनाएको छ ।

मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने लगायतका निर्णय मन्त्रालयमा लेखी पठाउने जनाएको छ ।