चितवनलाई तरकारी स्टोरको हब बनाउन आवश्यक छ : बालेन

चितवनलाई तरकारी स्टोरको हब बनाउन आवश्यक छ : बालेन

‘केही नेता र विचौलियाले भ्रम सिर्जना गरेर किसानलाई मार्ने काम भएको छ’



काठामाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले चितवनलाई तरकारी स्टोरको हब बनाउन सकिने बताएका छन् ।

चितवनमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले पूर्वदेखि पश्चिमसम्मका तरकारी स्टोर गर्ने सामर्थ्य रहेको भन्दै त्यसले देश र किसानलाई पनि फाइदा हुने बताए ।

उनले किसानलाई केही नेता र विचौलियाले सिन्डिकेटमा पारेर देशबाहिरको तरकारी खुवाउने काम गरिरहेको आरोप लगाए ।

उनले भने, ‘देशवासीलाई आफ्नै देशको तरकारी खुवाउन आवश्य छ भने किसानलाई मूल्य दिनु आवश्यक छ । त्यो सम्भव छ । किसानले सही मूल्य र बजार नपाएको समस्या रहेछ । केही सीमित विचौलिया, केही सीमित नेताहरूको सिन्डिकेटले पारी अनुदान नै अनुदानले कृषि हुन्छ,’ बालेनले भने, ‘त्यो सस्तोजस्तो देखिन्छ । त्यो देखाएर यहाँको किसानको चाहीँ महंगो जस्तो देखाएर भ्रम सिर्जना गराएर मार्ने काम भएको छ । त्यो रोक्न जरुरी छ ।’

उपसभापति स्वर्णिम वाग्लेले राज्यका हरेक निकायलाई पुराना दलहरूले दलीय छायामा राखेर निकम्मा बनाएको बताएका छन् । उनले यो लुटको साम्राज्य भत्काइने दिन नजिक रहेको जिकिर गरे ।

उनले हरेक क्षेत्रमा आफ्ना व्यक्ति भर्ती गरेर कमजोर बनाइएको भन्दै अब राज्य दोहन गर्न बनाइएको संरचना खारेज गरिने प्रतिबद्धता गरेका छन् ।

‘दलीय सिन्डिकेट अब खारेज हुनैपर्छ । पुराना दलहरू त्यही संरचना बोकेर आइरहेको हुँदा सचेत रहेर मतदातालाई आग्रह गर्दछु’, उनले भने, ‘परजीविहरूको रजगज बन्द हुनासाथ देशका आधा समस्या हल हुनेछन् ।’

अर्को पाँच वर्षभित्र १ सय खर्बको अर्थतन्त्र बनाउने दलको वाचापत्रमा रहेको उल्लेख गरे । निजीक्षेत्रलाई समेत ‘क्रोनिक क्यापिटलिज्म’को युग अन्त्य हुने बताउँदै ‘अब लगानीका लागि तयार रहन भने ।

अब राजनीतिक दल र निजीक्षेत्रका अपवित्र साँठगाँठ सम्भव हुनेछैन’, वाग्लेले भने, ‘तपाईंहरूको साथबिना आर्थिक रुपान्तरणको वातावरण सम्भव हुनेछैन ।’

त्यसैगरी चितवन ३ मा रास्वपाकी उम्मेदवार सोविता गाैतमले अध्यारो र उज्यालो एकै ठाउँमा रहन नसकेझैँ भ्रष्टाचार र सुशासन पनि एकै ठाउँमा रहन नसक्ने बताएकी छन् । चितवन चुनावी सभामा उनले सुशासन चाहिने भए भ्रष्ट पार्टीहरूलाई मत दिन नहुने बताइन् ।

‘अध्यारो र उज्यालो एक ठाउँमा रहन सक्दैन । सुशासन चाहन्छाैँ भने भ्रष्टाचारीको अन्त्य हुनैपर्छ । त्यसका लागि भ्रष्ट पार्टीहरूलाई पराजित गर्नैपर्छ’, गाैतमले भनिन् ।

उनले बालेन शाहको नेतृत्वमा नयाँ सरकार बन्ने र देशको भविष्य लेखिने बताइन् ।