अन्तर्राष्ट्रिय उडान रद्द भएपछि विमानस्थलमा यात्रुको बिचल्ली

अन्तर्राष्ट्रिय उडान रद्द भएपछि विमानस्थलमा यात्रुको बिचल्ली



काठमाडौं । मध्यपूर्वका देशमा देखिएका तनावका कारण नेपालमा शनिबारका लागि पूर्वनिर्धारित १८ वटा उडान रद्द हुँदा तीन हजारभन्दा बढी यात्रु बिचल्ली भएका छन् ।

संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको जवाफमा तेहरानले गरेको प्रत्याक्रमणपछि चुलिएको क्षेत्रीय तनावका कारण आठ वटा देशले आफ्नो हवाईक्षेत्र बन्द गरेका छन् ।

नेपालबाट संयुक्त अरब इमिरेटस (युएई) का तीन विमानस्थल सारजहा, दुबई र अबुधावी तथा दोहा (कतार), कुवेत, दमाम (साउदी) र स्तानबुल (टर्की) विमानस्थलमा हुँदै आएको उडान पूर्ण प्रभावित हुन पुगेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार मध्यपूर्वमा विकसित घटनाक्रमसँगै इरान, इजरायल, इराक, जोर्डन, कुवेत, युएईले आफ्नो हवाईक्षेत्र बन्द गरेको छ । नेपालबाट सिधा उडान हुँदै आएका कतार, युएई, कुवेत र टर्कीका उडान रोकिएका छन् ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले यात्रुलाई आफ्नो उडानका लागि विमानस्थल जानुभन्दा अगाडि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र जान र विमानस्थलमा रोकिएका यात्रुको व्यवस्थापन सम्बन्धित वायुसेवालाई नै गर्न निर्देशन दिएको बताए ।

नेपालबाट उडान गर्दै आएका नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले दुबई, दमाम र दोहाका सम्पूर्ण उडान अस्थायी रूपमा बन्द गरेका छन् । यात्राका लागि विमानस्थल पुगेका यात्रु दुवैतर्फका विमानस्थलमै रोकिएका छन् ।

विकसित पछिल्लो तनावपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै सरकारले इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेको छ ।