प्रतिनिधिसभा चुनाव : देशभर मतदान शुरू

प्रतिनिधिसभा चुनाव : देशभर मतदान शुरू



काठमाडौं । प्रतिनिधिसभा चुनावको लागि देशभर मतदान शुरू भएको छ । मतदान केन्द्रमा मतदाताको चहलपहल बढ्न थालेको छ । प्रत्यक्ष प्रणालीतर्फ १ सय ६५ र समानुपातिकतर्फ १ सय १० सांसद चुन्न मतदान शुरू भएको हो ।

अहिले बिहान ७ बजे बजेदेखि शुरू भएको मतदान बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ । बेलुकी ५ बजेसम्म मतदानस्थलमा प्रवेश गरेका मतदाताले मत दिन पाउनेछन् । देशभर १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता छन् । प्रत्यक्षतर्फ ३ हजार ४ सय ६ र समानुपातिकतर्फ ३ हजार १ सय ३५ उम्मेदवार छन् ।

मतदाताले मतदाता परिचयपत्रको सक्कल प्रति नभए नेपाली नागरिकता, नागरिकता नभए गाडी चालक अनुमतिपत्र, चालक अनुमतिपत्र नभए राहदानी, राहदानी नभए राष्ट्रिय परिचयपत्र, राष्ट्रिय परिचयपत्र पनि नभएमा जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) को सक्कल प्रति देखाएर मतदान गर्न सक्नेछन् । तर मतदाता नामावलीमा नाम भने समावेश हुनुपर्नेछ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबै मतदातालाई चुनावमा सहभागी हुन आह्वान गरेका छन् । चुनावलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन आयोग क्रियाशील रहेको उनले बताएका छन् ।

सरकारले चुनावको लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाएकाले ढुक्कसँग मतदानमा सहभागी हुन आग्रह गरेको छ । चुनावको सुरक्षाका लागि मतदान केन्द्रको बाहिरी घेरामा नेपाली सेना खटाइएको छ ।