ओलीले सम्झिए आजकै दिन आफ्नो जीवनका दुई संयोग

ओलीले सम्झिए आजकै दिन आफ्नो जीवनका दुई संयोग



काठमाडौं । देशभर मतदान चलिरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो जीवनका दुई संयोग स्मरण गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले यसबारे अवगत गराएका हुन् ।

झापा ५ का उम्मेदवारसमेत रहेका उनले झापा आन्दोलन र मिर्गौला प्रत्यारोपण भएको क्षण सम्झिएका हुन् । ओलीले आजै सुखानी शहीद दिवस भएको र ६ वर्षअघि दोस्रो पटक मिर्गाैला प्रत्यारोपण भएको बताएका छन् ।

त्यस्तै झापा आन्दोलनमा सहभागी भएकालाई एउटै जेलमा राखिएको र जेल सार्ने बहानामा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन्द राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई पञ्चायती प्रशासनले हत्या गरेको उल्लेख गरेका छन् ।

झापा आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका ओलीले ‘फागुन २१ कहिल्यै नबिर्सिने दिन’ भनेका छन् । उनको यी दुई घटनालाई सम्झिँदै ‘मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएको दिन’ भनेका हुन् ।

ओलीले फेसबुकमा के लेखेका छन् ?

आज मेरो जीवनका दुई संयोगहरु भएको दिन हो । आज सुखानी शहीद दिवस हो भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो। यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन् ।

झापा आन्दोलन, जसले निरंकुश व्यवस्थाको विरूद्ध विद्रोहको बिगुल फुकेको थियो । त्यही क्रममा हामीलाई जेल हालिएको थियो। झापा आन्दोलनका योद्धाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण राजवंशीलाई जेल सार्ने बहानामा निरंकुश व्यवस्थाले सुखानीको जंगलमा लगेर हत्या गरेको थियो ।

जेल सार्ने बहानामा हत्या गरिनलाग्दा पनि मृत्युको मुखबाट फर्केर आएको थिएँ र १४ वर्षको कठोर कारावास बिताएको थिएँ । देशलाई लोकतन्त्रको उज्यालो बिहानीमा लैजान बलिदान गरेका अमर शहीदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

फागुन २१ कहिल्यै नबिर्सने दिन हो ।