काठमाडौं । देशभरका सम्पूर्ण मतदान केन्द्रहरूमा शान्तिपूर्ण, स्वतन्त्र र उल्लासमय वातावरणमा मतदान कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले अहिलेसम्म देशका कुनैपनि मतदान केन्द्रमा मतदान कार्य नरोकिएको र सबै ठाउँमा सञ्चालन भइरहेको जानकारी दिएकी हुन् ।
मतदानको पछिल्लो अवस्थाबारे जानकारी दिँदै आयुक्त डा. तुलाधरले आम मतदाताहरू उत्साह र उल्लासका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेको बताइन् ।
सुरक्षा व्यवस्था र मतदान केन्द्रको समग्र व्यवस्थापनका विषयमा बोल्दै उनले यस पटकको निर्वाचनमा सुरक्षाको दृष्टिकोणले अत्यन्तै राम्रो प्रबन्ध मिलाइएको स्पष्ट पारिन् ।
मतदान केन्द्रहरूको वातावरण शान्त र भयरहित रहेको बताउँदै उनले निर्वाचन व्यवस्थापनका हरेक कार्यहरू उत्कृष्ट तरिकाले सम्पन्न भइरहेको दाबी गरिन् ।
आयुक्त तुलाधरकाअनुसार निर्वाचन आयोगले यसपटक मतदान केन्द्रहरूलाई विशेष रूपमा पहुँचयोग्य बनाएको छ ।सबै वर्ग र समुदायका नागरिकले सहजै मतदान गर्न सकुन् भन्ने उद्देश्यले आयोगले मतदान स्थलको निर्माण र व्यवस्थापनमा विशेष ध्यान दिएको छ ।
बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको हुनाले समयमै आफ्नो मतदान केन्द्रमा पुगेर अमूल्य मत खसाल्न आयोगले सम्पूर्ण मतदाताहरूलाई आग्रह समेत गरिन् ।


प्रतिक्रिया