काठमाडौं । निर्वाचन आयोगले मतपेटिका सुरक्षित रूपमा सङ्कलन भएपछि गणना थालिने जनाएको छ । कतिपय ठाउँमा मतपेटिका सङ्कलन धमाधम भइरहेको छ ।
दुर्गम १५ जिल्लाका विकट क्षेत्रबाट हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिनेछ । जसमध्ये ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र रुकुम (पूर्वी भाग) का सम्पूर्ण मतपेटिका आजै सम्बन्धित मतगणनास्थलमा पुर्याउने लक्ष्य छ भने सङ्खुवासभा, सोलुखुम्बु, गोरखा र रुकुम (पश्चिम भाग), मनाङ तथा बाजुरा र हुम्लाका मतपेटिका भोलि बिहानसम्म सम्बन्धित मतगणनास्थलमा पुर्याइनेछ ।
देशभरबाट प्राप्त विवरणअनुसार झन्डै ६० प्रतिशत मत खसेको आयोगको प्रारम्भिक अनुमान छ । मतदानका लागि तोकिएको समय बेलुका ५ बजेभित्र मतदान केन्द्रमा प्रवेश गरेका केही केन्द्रमा मतदानको कार्य चलिरहेकाे जानकारी सम्बन्धित निर्वाचन क्षेत्रबाट प्राप्त भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।
छिटफुट अवरोधका घटनाबाहेक मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको चुनाव पर्यवेक्षणमा खटिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको प्रारम्भिक विवरणबाट समेत प्राप्त भएको छ ।


प्रतिक्रिया