काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमध्ये १५६ वटाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।
८ वटामा गणना चलिरहेको छ भने धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवारी खारेज गरिएकाले त्यहाँको मतपरिणामलाई आयोगले औपचारिक विवरणमा समाविष्ट गरेको छैन ।
अन्तिम परिणाम घोषणा भएका १५६ निर्वाचन क्षेत्रमध्ये रास्वपाले १२० सिट जितेको छ । अहिले गणना भइरहेका क्षेत्रमध्ये रास्वपा ५ सिटमा अघि छ ।
अघिल्लो चुनावमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले यस पटक प्रत्यक्षतर्फ १७ सिट मात्रै जितेको छ । गणना भइरहेकामा कांग्रेसकाे कतै पनि अग्रता छैन ।
यसअघिको दोस्रो ठूलो दल नेकपा (एमाले) ले यस पटक प्रत्यक्षतर्फ ७ सिट जितेको छ । गणना भइरहेकामा एमाले ३ सिटमा अघि छ ।
यसअघिको तेस्रो दल नेकपा (माओवादी केन्द्र) सहित नेकपा (एकीकृत समाजवादी) लगायत थुप्रै दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले यस पटक प्रत्यक्षमा ७ सिट जितेको छ । गणना भइरहेकामा नेकपाकाे कतै पनि अग्रता छैन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यस पटक जुम्लामा मात्रै जितेको छ । गणना भइरहेकामा राप्रपाकाे कतै पनि अग्रता छैन ।
श्रम संस्कृति पार्टीले यस पटक ३ सिट जितेको छ । गणना भइरहेकामा श्रम संस्कृतिकाे कतै पनि अग्रता छैन ।
यस्तै म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले जितेका छन् ।


प्रतिक्रिया