काठमाडौं । रास्वपाका नेता शिशिर खनालले जनताले दिएको मत केवल विश्वास मात्र नभई जिम्मेवारी र चेतावनीसमेत भएको बताएका छन् । काठमाडौं-६ मा आयोजित पार्टीको कार्यक्रममा बोल्दै उनले मतदाताले देशलाई सुशासन र समृद्धितर्फ लैजान दुई तिहाइको विश्वास दिएको बताए ।
भ्रष्टाचार न्यूनीकरण, पुराना भ्रष्टाचारीलाई कारबाही र व्यावसायिक वातावरण निर्माण गर्ने कानुन बनाउनुपर्ने जनअपेक्षा स्पष्ट रहेको बताए । जनताले दिएको मत खाली चेक नभएको उल्लेख गर्दै अपेक्षा अनुसार काम गर्न नसके पाँच वर्षपछि मत माग्न नआए पनि हुन्छ भन्ने चेतावनीसमेत जनताले दिएको बताए ।
उनले भने, ‘हामीप्रति देखाउनुभएको अपार विश्वास देखाउनुभएको छ । दुई तिहाइको बहुमतसहितको मतले देशलाई राम्रो बनाउनुहोस्, सुशासनको पक्षमा र समृद्धिको पक्षमा तपाईँहरू अडिग भएर काम गर्नुहोस्, कसैसँग पनि देश बनाउने कुरामा, भ्रष्टाचार न्यूनीकरण गर्ने कुरामा अथवा पुराना भ्रष्टाचारीहरूलाई कारबाही गर्ने कुरामा तपाईँहरूले कसैसँग पनि सम्झौता गर्न नपरोस् ।’
देशका कानुनहरू समृद्धिको पक्षमा, व्यावसायिक वातावरण बनाउने पक्षमा, रोजगारी सिर्जना गर्ने पक्षमा आफूहरू केन्द्रित हुने बताए । रोजगारी सिर्जना गर्नुपर्ने एकदमै ठुलो चुनौती रहेको बताए । उनले मतदाताको विश्वासलाई खेर जान नदिने बचन दिए ।


प्रतिक्रिया