काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस अब उठ्ने बाटोमा लागिसकेको बताएका छन् । उनले कांग्रेस मासिन नलागेको बताए ।
बुधबार पार्टीबाट राष्ट्रियसभा सदस्यमा नवनिर्वाचित सदस्य र बहालवाला सदस्यहरूबीचको परिचयात्मक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सिटौलाले उक्त कुरा बताएका हुन् ।
पार्टी अब उठ्ने बाटोमा लागिसकेको उनले दाबी गरे । कांग्रेसले इतिहासमा यस्ता अप्रत्याशित परिणामहरू पहिले पनि भोगेको उनको भनाइ छ ।
सिटौलाले भने, ‘कांग्रेस मासिन बाटोमा गएको होइन, अब उठ्ने बाटो सुरु गरिसक्यो । विगतका इतिहासका घटना हेर्ने हो भने पनि हामीले यस्तो अप्रत्याशित परिणाम नभोगेको होइन । नेपाली कांग्रेसका नेता, कार्यकर्ता र लोकतन्त्रमा विश्वास गर्ने शुभेच्छुकहरू आत्तिनुपर्ने कुनै पनि अवस्था छैन । नयाँ परिस्थितिमा नयाँ ढंगले सोच्ने, नयाँ दृष्टिकोण र विचार बनाउने बेला आएको छ । पार्टी संगठन र नीतिगत पक्षमा पनि नयाँ ढंगले प्रस्तुत हुने अवस्था सिर्जना भएको छ । हामी पार्टीलाई नयाँ ढंगले रिस्ट्रक्चरिङ (पुनर्संरचना) गर्छौं र यस विषयमा गम्भीर छलफल हुनेछ ।’
देश घण्टीमय भएकाले कांग्रेस पनि पराजित भएको भन्दै पार्टीका पूर्वपदाधिकारी सहयोग नगरेको कुरा अस्वीकार गरे ।
गगन थापाकै कारण यति सिट पनि जोगियो भनेर मान्नुहुन्छ ? भन्ने जिज्ञासामा उनले थपे, ‘अब व्यक्ति केन्द्रित गरेर कांग्रेस अगाडि जान सक्दैन । हामीले सामूहिक रूपमा एकताबद्ध भएर जानुपर्छ। यो सब गलत विश्लेषण हो ।’
उनले विशेष महाधिवेशनलाई आफूहरूले अहिलेसम्म उचित नठानेको बताए । उनले भने, ‘अहिले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा छ । त्यसलाई छिट्टै टुङ्ग्याओस् हामी त्यति चाहन्छौँ । सर्वोच्च अदालतका न्यायाधीशहरूले त्यसलाई छिट्टै टुङ्ग्याइदिए हुन्थ्यो, त्यति मात्रै हाम्रो रिक्वेस्ट छ । कसरी टुङ्ग्याउनुहुन्छ हेर्न बाँकी छ ।’


प्रतिक्रिया