महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर

महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर



काठमाडौं । एमाले सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ । माघ ११ गते प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बस्नेतले दिएको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै बुधबार बस्नेतविरुद्ध मुद्दा दायर भएको हो ।

उक्त मुद्दामा आगामी चैत १ गतेका लागि सुनुवाइ तोकिएको छ । बस्नेतविरुद्ध अधिवक्ता अवन न्यौपानेले मुद्दा दायर गरेका हुन् ।

बस्नेतले ‘प्रधानन्यायाधीश लगायतका न्यायाधीश ज्यूहरु लाग्दै नलागेको रोग लागेर गायब हुने, न्यायीक प्रक्रिया आतंकित भएर, डराएर अथवा लोभ प्रलोभनमा परेर अथवा हस्तक्षेप भएर प्रक्रिया ढिला गर्ने, न्याय नदिने, दबाबमा पर्ने, भोलि महाअभियोग आउला भन्ने अथवा राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिको सामु डराउने, प्रधानन्यायाधीश लगायतका न्यायाधीश ज्यूहरू फोन अफ गर्ने, पन्छिने’ भन्दै अदालतको अवहेलना गर्दै अभिव्यक्ति दिएको न्यौपानेले दायर गरेको रिटमा उल्लेख छ ।

त्यस्तै, बस्नेतले ‘हामी वैदेशिक आक्रमणमा छौं र हाम्रो सर्वोच्च अदालत, उच्च र जिल्ला अदालतहरू मात्र जलेका होइनन्, हाम्रो न्याय प्रणाली नै जलेको छ भन्ने कुरा यसबाट अनुभूति हुन्छ’ भन्दै अदालतप्रति सार्वजनिक रूपमा हुर्मत लिने काम गरेको पनि निवेदनमा उल्लेख छ ।

रिट निवेदन दर्ता गराउँदै अधिवक्ता न्यौपानेले बस्नेतलाई अदालतको अवहेलनामा कारबाही चलाई हदैसम्मको सजाय दिन माग गरेका छन् ।