काठमाडौं । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयले अन्तर्गतको कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा आजसम्म ६५ हजार ८८६ नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरेका छन् ।
त्यसरी दर्ता भएका विवरण अध्ययन गरी आवश्यकताअनुसार कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि पश्चिम एसियामा द्वन्द्व चर्केको छ । त्यहाँबाट नेपाली नागरिकको उद्धार तथा आवश्यक सहायतालगायतका प्रयोजनका लागि विभागद्वारा उक्त अनलाइन पोर्टल यही फागुन १८ गतेदेखि सञ्चालनमा ल्याइएको हो ।
सो पोर्टलमा उक्त क्षेत्रमा रहेका नेपाली राजदूतावासमार्फत नेपाली नागरिकको विवरण सङ्कलन गर्ने कार्य भइरहेको विभागका महानिर्देशक दुपर्दा सापकोटाले जानकारी दिए ।
पश्चिम एसियामा रहेका नेपाली नागरिकको सुरक्षा, हित तथा कल्याणको सुनिश्चितताका लागि मन्त्रालय र त्यहाँस्थित नेपाली नियोग निरन्तर सक्रिय रहेका छन् । उक्त क्षेत्रमा रहेका नेपाली नियोगहरुले समस्यामा परेका नेपालीको उद्धार तथा सहायताका लागि निरन्तर समन्वय गरिरहेका मन्त्रालयलका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।
परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित ‘इमजेन्सी रेस्पोन्स टिम’को बुधबार सम्पन्न दोस्रो बैठकको निर्णयअनुसार समस्यामा परेका नेपालीसँग इमेल, फोन वा अन्य उपयुक्त माध्यमबाट सम्पर्क गर्न, मनोबल बढाउन र उनीहरूको प्रतिक्रिया लिएर प्रतिवेदन गर्न पश्चिम एसियास्थित सबै नियोगलाई निर्देशन दिइएको उनले बताए ।
पश्चिम एसिया क्षेत्रमा रहेका सबै नेपाली नागरिकलाई संयमित, सचेत र सजग रहन कानुन विपरीत कुनै किसिमका फोटो, भिडियो तथा अडियो सामग्री रेकर्ड गर्ने र आदानप्रदान गर्ने कार्य नगर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ ।


प्रतिक्रिया