पानी परेसँगै घट्यो वायु प्रदूषण, काठमाडौं उपत्यकाको वायु सुरक्षित

पानी परेसँगै घट्यो वायु प्रदूषण, काठमाडौं उपत्यकाको वायु सुरक्षित



काठमाडौं । हिजो बेलुकी र राति भएको वर्षाले प्रदूषण घटाएको छ । अहिले बिहान काठमाडौं उपत्यकाको वायुको गुणस्तर एक्यूआई ३४ मा झरेको छ, जुन स्वास्थ्यका दृष्टिले राम्रो र सुरक्षित मानिन्छ ।

हिजोसम्म एक्यूआई १ सय ५० भन्दा माथि थियो । वायु गुणस्तर सूचकांक अनुसार ५० सम्म हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ मानिन्छ ।

३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ ।यसअघि काठमाडौंको हावाको गुणस्तर सूचकाङ्क एक्यूआई २ सयसम्म पुगेर स्वास्थ्यका दृष्टिकोणले हानिकारक स्तरमा पुगेको थियो ।

देशका अरु ठाउँमा पनि प्रदूषण बढेको थियो । तर हिजोको वर्षासँगै हावामा रहेको धुलो तथा धुवाँका कणहरू बाहिरिएपछि हावाको गुणस्तरमा सुधार आएको छ ।