काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले समानुपातिक सांसद बनाउन निरन्तर दबाब आएपछि साधारण सदस्य समेत नरहने गरी निस्कासन गर्ने चेतावनी दिएका छन् ।
स्थापनाको ६ महिनामै राष्ट्रिय पार्टी बन्न सफल बनेको श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ ३ सिट जितेको छ ।
कोशी प्रदेशका निर्वाचन क्षेत्रहरू सुनसरी–१, भोजपुर र खोटाङमा प्रत्यक्ष जितेको यो दलले समानुपातिकमा पनि ४ जना सांसद पाउने भएकाे छ ।
बिहीबार राति दुई घन्टाको अन्तरमा अध्यक्ष हर्कले लेखेका दुइटा फेसबुक स्ट्याटसले उनीमाथि समानुपातिक बनाउन दबाब उच्च भएको देखिएकाे हाे ।
बिहीबार राति करिब ८ बजेतिर ‘भात खाऊ मेरो टाउको नखाऊ’ भनेर फेसबुकमा लेखेका हर्कले राति १० बजे फेरि अर्को स्ट्याटस लेखे ।
त्यसमा उनले भनेका छन्, ‘अब उप्रान्त समानुपातिकको विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गर्नेछु ! हद भो !!!’


प्रतिक्रिया