काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै उनले पितालाई जीवनको महत्वपूर्ण संरक्षक, गुरु र मार्गदर्शकका रूपमा स्मरण गरेका छन् । संस्कृत श्लोक उद्धृत गर्दै उनले पिताको स्थान जीवनमा अतुलनीय हुने उल्लेख गरेका छन् ।
साहले केही समयअघि आफूले पनि पिता गुमाएको स्मरण गर्दै पिताको अभावले जीवनमा गहिरो रित्तोपन र अपूरणीय शून्यता ल्याउने अनुभूति हुने बताएका छन् ।
उनले पूर्वप्रधानमन्त्री ओलीप्रति परेको पितृ शोकप्रति समवेदना व्यक्त गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् र वैकुण्ठवासको कामना गरेका छन् ।
उनले भनेका छन्, ‘पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरु कोही छैन, पिताजस्तो देवता पनि कोही छैन । केही समय अघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ—पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ ।’


प्रतिक्रिया