सोमबार यी क्षेत्रमा असिनासहित वर्षाको सम्भावना

सोमबार यी क्षेत्रमा असिनासहित वर्षाको सम्भावना



काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेका कारण वर्षा र हिमपातको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी क्षेत्रमा आंशिक बादल लाग्नेछ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका केही स्थानमा तथा कोसी, वाग्मती र लुम्बिनी प्रदेशको हिमाली भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन, चट्याङ, अशिनासहित मध्यम वर्षाको सम्भावना छ ।

तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । विभागले राति कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा तथा बाँकी प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने बताएको छ ।

बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा र बाँकी हिमाली क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।