लोकप्रियतावाद र अराजकतावादको जगमा नयाँ शक्ति उदायाे : शंकर पोखरेल

लोकप्रियतावाद र अराजकतावादको जगमा नयाँ शक्ति उदायाे : शंकर पोखरेल



काठमाडौं । नेकपा एमालेका प्रदेश तथा जिल्ला अध्यक्षहरूसँग भर्चुअल जुम बैठक सुरु भएको छ । बैठकलाई सम्बोधन गर्दै महासचिव शंकर पोखरेललेले पछिल्लो मत परिणामबारे टिप्पणी गर्दै लोकप्रियतावाद र अराजकतावादको जगमा नयाँ शक्ति उदाएको दाबी गरेका छन् ।

पोखरेलले रास्वपाभित्र लोकप्रियतावादी र अवसरवादीहरूको गठजोड रहेको दाबी गर्दै त्यस्ता शक्तिहरूसँग राष्ट्र र राष्ट्रियताप्रति स्पष्ट विचार, सिद्धान्त तथा दीर्घकालीन राजनीतिक दृष्टि नभएको टिप्पणी गरे । उनका अनुसार यस्ता शक्तिहरू छिटो लोकप्रियता कमाउने र तत्काल परिणाम दिने वाचा गर्दै अघि बढ्ने तर व्यवहारमा परिणाम दिन नसक्ने अवस्था आउनेछ ।

उनले अध्यक्ष केपी शर्मा ओली,एमालेविरुद्ध नयाँ र पुरानो अनुहार भन्ने नारामा आधारित प्रचार गरेर जनतालाई भ्रमित पारिएको बताए। यस्तो प्रचार शैली डिजिटल माध्यमको प्रयोगमार्फत फैलाइएको लोकप्रियतावादकै एउटा रूप भएको उनको भनाइ छ ।

महासचिव पोखरेलले जनताले दिएको मतको परिणामलाई एमालेले सम्मान गर्ने स्पष्ट गर्दै आम मतदाताले एमालेसँग सम्बन्ध विच्छेद नगरेको दाबी गरे । उनले हरेक समाज र घरमा एमालेको उपस्थिति रहेको उल्लेख गर्दै पार्टीले अब थप नयाँ ढंगले संगठन निर्माण र परिचालनलाई तीव्र बनाउने बताए ।