काठमाडौं । नेकपा एमालेले पाल्पाको तानसेन नगर कमिटी सहित सबै वडा कमिटीहरू विघटन गरेको छ ।
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले ल्याएको परिणामबारे समीक्षाका लागि बसेको बैठकले अहिलेकै अवस्थामा पार्टी पङ्क्तिलाई अगाडि बढाउन नसकिने भन्दै नगर र सबै वडा कमिटीहरू विघटन गरेको हो ।
तानसेन नगरपालिकामा १४ वटै वडामा एमालेका वडा कमिटी गठन गरिएका थिए । ती सबै कमिटी विघटन गरिएको नगर अध्यक्ष गुराँस आत्रेयले जानकारी दिए ।
आत्रेयका अनुसार नगर र वडामा अर्को कमिटी गठन नहुँदासम्म भने अहिले विघटन गरिएका पुरानै कमिटीले काम गर्ने छन् ।
नयाँ कमिटी गठनका लागि जेठ ३ गते नगर कमिटी गठनका लागि अधिवेशन गर्ने निर्णय गरिएको छ भने तीन महिनाभित्र सबै वडा कमिटीहरूले अधिवेशन गर्ने निर्णय भएको उनले बताए ।
अध्यक्ष आत्रेयले अहिले रहेको केन्द्रीय नेतृत्व परिवर्तन नहुँदासम्म पार्टी अगाडि बढ्न नसक्ने निष्कर्ष सहित नेतृत्व पुनर्गठनका लागि जिल्ला र केन्द्रीय कमिटीलाई दबाब दिनका लागि पनि आफूले नगर र वटा कमिटी विघटन गरेको बताए ।


प्रतिक्रिया