एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् धन्यवाद

एमाले नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले दिइन् धन्यवाद



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेकोमा नेकपा एमालेलाई धन्यवाद दिएकी छन् ।

एमाले नेतृत्वलाई बालुवाटारमै आमन्त्रण गरेर उनले धन्यवाद ज्ञापन गरेकी हुन् ।

प्रधानमन्त्रीको निम्तोमा एमाले नेतात्रय ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण वातावरणमा निर्वाचन सफल पार्न भूमिका खेलेको भन्दै प्रशंसा गरिन् ।

उनले भनिन्, ‘यो कठिन अवस्थालाई शान्तिपूर्ण रूपमा निकास दिने एक मात्र विकल्प निर्वाचन नै थियो । राष्ट्रप्रतिको जिम्मेवारी सम्झेर यहाँहरूले जुन सहयोगी भूमिका खेलिदिनुभयो र निर्वाचनमा सक्रिय सहभागिता जनाइदिनुभयो, यसका लागि मुरीमुरी धन्यवाद दिन चाहन्छु ।’

कार्कीले निर्वाचनमा जित-हार भइरहने भएकाले एकपल्टको जनादेशबाट विचलित नहुन भन्दै एमाले नेतृत्वलाई सान्त्वना पनि दिइन् ।

उनले भनिन्, ‘एक पटकको जनमतले सधैँका लागि पार्टीहरूको हैसियत निर्धारण गर्दैन । भारतमा अटलविहारी बाजपेयी र इन्दिरा गान्धीका पालामा उहाँहरूको पार्टीले बेहोरेको उतारचढाव पनि देखेकै छौँ । राजनीति निरन्तरको अभियान भएकाले देश र जनताका मुद्दा बोकेर लागिरहनुहोस् ।’

एमाले नेताहरूले पनि कठिन घडीमा नेतृत्व प्रदान गरी सबै पक्षको चित्त बुझाउँदै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्री कार्की र उनी नेतृत्वको सरकारलाई बधाई दिए ।