काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपाप्रति लक्षित गर्दै चुनावी लहर वा एकपटकको जितले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित नगर्ने टिप्पणी गरेका छन् ।
फेसबुकमा स्टाटस लेख्दै उनले अहिले चुनावमा देखिएको ‘बालेन लहर’ जस्तै सन् १९८४ मा भारतमा ‘राजीव लहर’ देखिएको दृष्टान्त देखाएका छन् ।
उनले लेखेका छन्, ‘जनअपेक्षा पूरा गर्ने क्षमता, संगठनको सुदृढीकरण र निरन्तर जनसमर्थन कायम राख्ने रणनीति नै दीर्घकालीन सफलताको आधार हुन् ।
जित्ने र हार्ने दुवैका लागि यी शिक्षाका विषय हुन् ।’
पोखरेलको स्टाटस –
चुनावको नतिजा र शिक्षा
सन १९८४ को भारतीय आम चुनावमा आजको नेपालको चुनावमा देखिएको “बालेन लहर” जस्तै “राजीव लहर” देखिएको थियो । त्यस समयमा भारतीय लोकसभामा कांग्रेस (आई) ले दुई तिहाइभन्दा बढी सिटमा ऐतिहासिक विजय हासिल गरेको थियो । वर्तमान सत्तारूढ दल भाजपा भने उक्त चुनावमा केवल २ सिटमा सीमित भएको थियो ।
तर, त्यस्तो विशाल सफलता प्राप्त गरेपछि पनि कांग्रेस (आई) क्रमशः कमजोर बन्दै गयो, जबकि भाजपा विस्तारै सशक्त बन्दै अघि बढ्यो । यही प्रक्रियाको परिणामस्वरूप आज भाजपा नरेन्द्र मोदी को नेतृत्वमा लगातार तेस्रो कार्यकालका लागि भारतको केन्द्रीय शासनमा स्थापित भएको छ ।
यस घटनाक्रमले एउटा महत्वपूर्ण शिक्षा दिन्छ—चुनावी लहर वा एकपटकको ठूलो जितले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्दैन । जनअपेक्षा पूरा गर्ने क्षमता, संगठनको सुदृढीकरण, र निरन्तर जनसमर्थन कायम राख्ने रणनीति नै दीर्घकालीन सफलताको आधार हुन् ।
जित्ने र हार्ने दुबैका लागि यी शिक्षाका विषय हुन् ।


प्रतिक्रिया