आजको दिनसम्म मन्त्रिपरिषद्को टुंगो लागेको छैन : रवि लामिछाने

आजको दिनसम्म मन्त्रिपरिषद्को टुंगो लागेको छैन : रवि लामिछाने

सञ्चारमाध्यममा अभिव्यक्ति दिनुअघि पार्टीपंक्तिसँग सल्लाह गर्न नवनिर्वाचित सांसदलाई निर्देशन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आजको दिनसम्म मन्त्रिपरिषद्को कुनै पनि टुंगो नलागेको जानकारी गराएका छन् ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट विजयी उमेदवारलाई पार्टीले दिएको अभिमुखीकरण कार्यक्रममा समापन मन्तव्य राख्दै उनले अब बन्ने मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको बताए ।

‘अहिले म यहाँ बोल्ने बेलासम्म मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैन । हामीले तपाईंहरू सबैलाई चिनेका छौं । बलियो मन्त्रिपरिषद् बनाउँछौं,’ रविले भनेका छन् ।

सभापति लामिछानेले आशा र अपेक्षासहित जनताले खन्याएर दिएको भोटको महसुस प्रत्येक दिन हुनुपर्ने बताएका छन् ।

‘यो देश अहिले बनेन भने कहिले पनि बन्दैन भनेर साथीहरूले सोधेका छन्,’ लामिछानेले भने, ‘जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ ।’

जुनसुकै धरातलबाट आए पनि चुनावमा विजयी सबैलाई उनले स्वागत गरेका छन् । रास्वपाभित्र सिंगो देशको अनुहार रहेको सभापति लामिछानेले बताए ।

सभापति लामिछानेले रास्वपाबाट विजयी सबैलाई एउटै ट्रयाकमा लिएर जान अनुशासन आवश्यक हुने बताए । लामिछानेले भने, ‘डाक्टर, इन्जिनियर, सामाजिक अभियन्ता, कवि, कलाकार, रोल मोडल, मोडल सबैजना हुनुहुन्छ । यति ठूलो परिवारलाई समायोजन गर्न, एउटै धारमा लैजान अनुशासनको अत्यन्त ठूलो खाँचो हुन्छ ।’

साथै, उनले सञ्चारमाध्यममा अभिव्यक्ति दिनुअघि पार्टीपंक्तिसँग सल्लाह गर्न उनले निर्देशन दिए । ‘तपाईंहरूको मिडिया प्रेजेन्सप्रति कतै दुःखमनाउ गर्दिनँ,’ उनले भने, ‘तर, आफू अभिव्यक्त हुनुभन्दा पहिला पार्टी पंक्तिसँग सरसल्लाह गर्नुहोला ।’

सानो अभिव्यक्तिले देशका महत्त्वपूर्ण सम्बन्धमा आँच आउन नहुने उनको भनाइ छ ।

उनले पार्टीबाट राई, लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा माफी मागेका छन् । ‘म दुखका साथ क्षमायाचना गर्दै भन्छु, हाम्रो पार्टीभित्र राइ लिम्बू समुदायको प्रतिनिधित्व यसपटक प्रतिनिधिसभामा हुन सकेन,’ रविले भनेका छन्, ‘म सभापतिको हैसियतमा क्षमा माग्दै भन्छु, आगामी दिनमा समावेशीताको यो महत्त्वपूर्ण कडीलाई प्राथमिकताका साथ अघि राख्नेछु ।’