राप्रपाभित्र तत्काल व्यापक पुनर्संरचना जरुरी छ : महामन्त्री पाठक

राप्रपाभित्र तत्काल व्यापक पुनर्संरचना जरुरी छ : महामन्त्री पाठक



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीभित्र तत्काल व्यापक पुनर्संरचना जरुरी रहेको बताएका छन् ।

राप्रपालाई एउटा विश्वासिलो र सशक्त हस्तक्षेपकारी/रूपान्तरणकारी पार्टी बनाउन तत्काल व्यापक पुनर्संरचना अत्यन्त जरुरी रहेको उनले बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, “त्यसका लागि पार्टीको नाम, चुनाव चिह्न, केन्द्रदेखि तल्लो एकाइसम्मका नेतृत्वको पुनरवलोकन र आवश्यक परिवर्तन अत्यावश्यक छ ।”

राप्रपाको एजेन्डामा खासै समस्या नरहेको भन्दै उनले चिन्तन र कार्यशैलीमाथि प्रश्न उठाएका छन् । “समस्या पार्टीभित्रका बलशाली प्रवृतिहरूमा छ । समस्या समयको प्रवाह र आवश्यकतालाई नचिन्नु/ नबुझ्नुमा छ । समस्या आधुनिक युगको राजनीतिक आयामलाई अधिकांश रूपमा बेवास्ता गरेर उल्टै हियाउनुमा छ ।”

यही शैली र सोचबाट अघि बढ्ने हो भने पार्टीले आउने स्थानीय तह र प्रदेश तहको निर्वाचनमा उमेदवार भेट्न पनि मुस्किल हुने उनले बताएका छन् ।