काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज अपराह्नपछि विशेष गरी तराईका केही जिल्लामा हुरीसहित असिना पानी पर्ने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । हावाहुरीका कारण मानवीय तथा भौतिक क्षति हुनसक्ने भएकाले अनावश्यक रूपमा घरबाहिर ननिस्कन र आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको हो ।
विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले मौसमी सूचनालाई बेवास्ता गर्दा नेपालमा प्राकृतिक विपद्बाट हुने क्षति बढ्दै गएको उल्लेख गर्दै समयमै सचेत हुन सुझाव दिएका छन् । उनका अनुसार हावाहुरी र असिना पानीको समयमा सवारीसाधन नचलाउने, रुख तथा बिजुलीका खम्बा नजिक नबस्ने र अनावश्यक रूपमा बाहिर ननिस्कने जस्ता सावधानी अपनाउनु आवश्यक छ ।
विभागका अनुसार आज अपराह्नपछि कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । साथै वाग्मती, मधेस तथा कोशी प्रदेशको तराईका थोरै स्थानमा पनि यस्तै खालको मौसम रहने अनुमान गरिएको छ ।
विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार विशेष गरी तराई क्षेत्रमा अपराह्नपछि करिब दुईदेखि तीन घण्टासम्म ५०-६० किलोमिटर प्रतिघण्टा वेगको हुरी चल्ने सम्भावना छ । यसबाट रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको उनले बताइन् ।
हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी, उपत्यकाका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको र उक्त प्रणाली उत्तर–पूर्वतर्फ सर्दै गइरहेको विभागले जनाएको छ। देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम रहेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चट्याङका बेला सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। आकाशमा बिजुली चम्किन र गड्याङगुडुङ हुन थालेपछि नजिकैको सुरक्षित संरचनाभित्र पस्न सुझाव दिइएको छ ।
प्राधिकरणका उपसचिव रामबहादुर केसीका अनुसार प्रभावित क्षेत्रका बासिन्दा र यात्रुले अनावश्यक यात्रा नगर्ने, सुरक्षित स्थानमा बस्ने तथा सवारीसाधन सञ्चालन नगर्ने जस्ता सावधानी अपनाउनुपर्छ। साथै कमजोर संरचना, बिजुलीका तार र धातुका वस्तुबाट टाढा रहन र विद्युत् उपकरण नचलाउन पनि उनले आग्रह गरेका छन् ।
सुरक्षित ओत नभएमा टाउको घुँडाबीच राखेर शरीर सानो बनाउँदै निहुरेर बस्ने, समूहमा भए एक अर्काबाट टाढा रहने तथा खुला स्थानमा भए होचो भूभाग वा खोँचतर्फ सर्ने उपाय अपनाउन सुझाव दिइएको छ ।


प्रतिक्रिया