आज पनि चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

आज पनि चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना



काठमाडौं । आज पनि देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भरे रातिदेखि मौसम खुल्ने सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले मौसम बदली भई पश्चिम नेपालबाट शुरु भएको वर्षा गएराति पूर्वी नेपाल पुगेको छ । राति पूर्वका बिभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

हिजो दिउँसो र बेलुकी पश्चिम र मध्य क्षेत्रमा मध्यम वर्षा भएको थियो । यस्तै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । हिजो देशका सबैजसो ठाउँमा पानी परेको महाशाखाले जनाएको छ । दाङ, बुटवल, चितवन लगायतका ठाउँमा भने ठूलो हुरीबताससमेत चलेको थियो ।

महाशाखाका अनुसार आज पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही ठाउँमा मेघगर्जन, चट्याङ, असिना र हुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । आज रातिदेखि भने बिस्तारै मौसम खुल्दै जाने महाशाखाले जनाएको छ ।