रामेछापमा ससुराले गरे ज्वाइँको हत्या

रामेछापमा ससुराले गरे ज्वाइँको हत्या



रामेछाप । शैलुङ गाउँपालिका-४ मा आफ्नै ज्वाइँको हत्या गरी फरार रहेका एक वृद्धालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार सोमबार ससुरालीमा कोसेली लिएर पुगेका ज्वाइँ प्रेमबहादुर तामाङलाई बाटोमा हिँड्दै गरेका बेला ६० वर्षीय ससुरा वीरबहादुर तामाङको कुटाइबाट हत्या भएको हो ।

घटनापछि फरार वीरबहादुरलाई आज बिहान साढे ७ बजेतिर खारपानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख भोलाकुमार भट्टले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा ठूलो विवाद नदेखिएको प्रहरीले जनाएको छ ।

‘ससुरालीमा दाजुभाइबीच सामान्य पारिवारिक विवाद रहेको र कसको घरमा जाने, कसकोमा नजाने भन्ने विषयमा झगडा हुँदा ससुराले सामान्य तरिकाले हातैले प्रहार गर्दा ज्वाइँको ज्यान गएको देखिन्छ,’ डीएसपी भट्टले भने ।

प्रहरीका अनुसार ज्यान मार्ने स्पष्ट नियत नदेखिए पनि घटनामा प्रेमबहादुरको मृत्यु भएको छ । पक्राउ परेका वीरबहादुरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मन्थली ल्याइएको छ ।