काठमाडौं । नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त भएका छन् । उनले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । त्यसको लगत्तै उनले सञ्चार मन्त्रालयमा पदभार ग्रहण गरेका छन् ।
अष्ट्रेलियाका ग्रिफिथ विश्वविद्यालय र क्विन्सल्याण्ड विश्वविद्यालयमा उच्च शिक्षा हासिल गरेका तिमल्सिना शिक्षा तथा सञ्चार क्षेत्रमा दीर्घ अनुभव भएका व्यक्तित्वका रूपमा चिनिन्छन् । उनी विगत १५ वर्षदेखि सञ्चार, अनुसन्धान तथा शैक्षिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।
पत्रकारिताबाट आफ्नो करिअर सुरु गर्नुभएका तिमल्सिना करिब एक दशकअघि रेडियो सगरमाथामा कार्यक्रम उत्पादक तथा प्रस्तोताका रूपमा कार्यरत थिए । त्यसक्रममा उनले समसामयिक विषय, विकास तथा सामाजिक सरोकारका मुद्दामा केन्द्रित कार्यक्रम सञ्चालन गरेका थिए ।
उच्च शिक्षाका लागि अष्ट्रेलिया गएपछि उनले त्यहाँबाट सञ्चालित ‘नेपाल एक्सप्रेस’ मा कार्यकारी सम्पादकका रूपमा काम गर्दै प्रवासी नेपाली समुदायका मुद्दाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा उठाए ।
साथै, सिड्नीबाट सञ्चालन हुने ‘साउथ एसिया डट कम डट एयू’ मा सम्पादकीय सल्लाहकारको भूमिका निर्वाह गर्दै क्षेत्रीय विषयवस्तुमा विश्लेषणात्मक सामग्री उत्पादनमा संलग्न भए ।
राजनीतिमा सक्रिय हुँदै तिमल्सिना पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट–१ बाट निर्वाचित भएको हो । सञ्चार क्षेत्रको अनुभव र अन्तर्राष्ट्रिय अध्ययनका आधारमा उनले मन्त्रालय सम्हालेसँगै सूचना प्रविधि तथा मिडिया नीतिमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
नवनियुक्त मन्त्री तिमल्सिनाबाट प्रेस स्वतन्त्रता सुदृढीकरण, डिजिटल सञ्चारको व्यवस्थित नियमन तथा सरकारी सञ्चार संयन्त्रको आधुनिकीकरणमा प्रभावकारी पहल हुने विश्वास गरिएको छ ।


प्रतिक्रिया