कांग्रेसका नवनिर्वाचित सांसदलाई देउवा पक्षले बधाई दियाे

कांग्रेसका नवनिर्वाचित सांसदलाई देउवा पक्षले बधाई दियाे



काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सांसदहरूलाई निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले कार्यक्रम गरेर बधाई दिएको छ । धुम्बाराहीमा रहेको एक होटलमा आज कार्यक्रम गरी नेता पूर्णबहादुर खड्का र शेखर कोइरालासहित नेताहरूले बधाई दिएका हुन् ।

कार्यक्रममा राष्ट्रियसभा र प्रतिनिधिसभाका नवनिर्वाचित केही सांसदहरू उपस्थित थिए । कांग्रेस केन्द्रीय कार्यसमितिले भने यसअघि नै सांसदहरूलाई बधाईसहित प्रशिक्षणसमेत दिइसकेको छ ।

आज सांसदहरूलाई बधाई दिने कार्यक्रममा नेता पूर्णबहादुर खड्काले नवनिर्वाचित सांसदहरूलाई देश र नागरिकका पक्षमा काम गर्न आग्रह गरे ।

यसैबीच शेरबहादुर देउवा पक्षले पार्टी केन्द्रीय कार्यसमितिको नाममा समानान्तर गतिविधि चलाउन लागेपछि पार्टी सभापति गगन थापा पक्षले त्यसबारेमा अनौपचारिक छलफल गरेको छ ।

कांग्रेसले भोलि अनुशासन समितिको बैठक बोलाएको छ । बैठकमा देउवा पक्षका नेता पूर्णबहादुर खड्काले ‘कार्यवाहक सभापति’ कै हैसियतमा पार्टीको लेटरहेड प्रयोग गरी शनिवार निकाल्नुभएको विज्ञप्ति र भोलि बस्न लागेको बैठकका बारेमा छलफल गर्ने कांग्रेसले जनाएको छ । खड्काले भोलि केन्द्रीय समिति बैठक र आउँदो १९ गते जिल्ला सभापतिहरूको भेला पनि बोलाएका छन् ।

देउवा पक्षले विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई स्वीकार गरेको छैन ।