लेबनानमाथि इजरायली आक्रमण कायमै, २४ घण्टामा २०३ जनाको ज्यान गयो

लेबनानमाथि इजरायली आक्रमण कायमै, २४ घण्टामा २०३ जनाको ज्यान गयो



काठमाडौं । अमेरिका–इरानबीच युद्धविराम सहमति भए पनि इजरायलले लेबनानमाथि आक्रमण गरिरहेको छ ।

इजरायलले लेबनानमा इरान समर्थित विद्रोही समूह हिजबुल्लाहमाथिको आक्रमणलाई झनै तीव्र बनाएको हो ।युद्धविराम सहमति भए पनि इजरायल–लेबनान द्वन्द्व कायमै रहँदा क्षेत्रीय शान्ति अझै अनिश्चित रहेको सङ्केत देखिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा कम्तीमा २ सय ३ जनाको ज्यान गएको र १ हजारभन्दा धेरै घाइते भएका जनाएको छ ।

इरानले लेबनानमाथि इजरायली आक्रमणलाई युद्धविराम सम्झौताको उल्लङ्घन भनेको छ । हिजो इजरायलले लेबनान युद्धविरामको हिस्सा नभएको बताउँदै आक्रमण शुरू गरेको थियो ।

यसैबीच इजरायलले लेबनानमा आक्रमण गरेर युद्धविराम उल्लङ्घन गरेको भन्दै इरानले हर्मुज जलमार्ग बन्द गरेको छ । अनुमतिविना हुर्मज जलमार्ग पार गर्न खोज्ने कुनै पनि जहाजलाई आक्रमण गरेर नष्ट गर्ने इरानी नौसेनाले चेतावनी दिएको छ ।

हर्मुज जलमार्गमा अवरोध भएसँगै तेलको भाउ फेरि बढेको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘वास्तविक र पूर्ण कार्यान्वयन हुने सम्झौता’ नभएसम्म इरान नजिकै तैनाथ अमेरिकी सैन्य शक्ति यथावत् रहने बताएका छन् ।

अमेरिकी सेना, हतियार र सैन्य संरचना इरानकै वरिपरि क्षेत्रमा यथावत् रहने ट्रम्पको भनाइ छ । यसले वार्तासँगै सैन्य दबाव कायम राख्ने अमेरिकी रणनीति झल्काएको छ ।

मङ्गलवार भएको दुई हप्ते युद्धविरामले द्वन्द्वमा केही विरामको सङ्केत दिए पनि क्षेत्रीय तनाव घटेको छैन ।