खोटाङ । सरकारले निर्धारण गरेका एक सय पर्यटकीय गन्तव्यमध्ये पर्ने मुन्दुम ट्रेल यतिबेला विभिन्न रङका गुराँसले ढकमक्क ढाकिँदा झन् आकर्षक बनेको छ। एउटै वन र पाखामा रातो, सेतो र गुलाबी गुराँस फुलेपछि त्यहाँ पुग्ने जो–कोही पनि मोहित हुने गरेका छन्।
साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङबाट सुरु हुने यस पदमार्ग आसपासका हरिया वन र घाँसेमैदानमा फुलेका लालीगुराँस, चिमाल र चाँपले वातावरण रंगीन बनेको छ। यही दृश्य अवलोकन गर्न यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढिरहेको स्थानीयले बताएका छन्।
हालै मुन्दुम ट्रेल पदयात्रा पूरा गरेका ‘हिँड्ने मान्छे’ भनेर चिनिने ओजनबाबु आचार्य नेतृत्वको टोलीले यस क्षेत्रको प्राकृतिक सौन्दर्य अत्यन्त मनमोहक रहेको अनुभव सुनाएको छ। टोलीले सामाजिक सञ्जालमा सार्वजनिक गरेका गुराँसका तस्बिरहरू अहिले व्यापक रूपमा चर्चामा छन्, जसका कारण थप पर्यटक आकर्षित भइरहेका छन्।
प्रकृतिप्रेमीहरूका अनुसार मुन्दुम ट्रेल वसन्त र शरद् दुवै मौसममा घुम्न उपयुक्त गन्तव्य हो। वसन्तमा गुराँसले ढाकिएको घाँसेमैदान र शरदमा लेकाली फूलहरूले यहाँको सौन्दर्य अझ बढाउने गर्दछ। अन्य ठाउँमा पाखामा मात्र पाइने गुराँस यहाँ भने फराकिला घाँसेमैदानमै फुलेको देखिनु यसको विशेषता हो।
प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाको संगम बनेको मुन्दुम ट्रेल क्षेत्रमा मैयुङका फाँटमा मात्र १८ प्रजातिका गुराँस पहिचान भइसकेको अनुसन्धानकर्ताले बताएका छन्। साथै यहाँ रेडपाण्डा, थार, विभिन्न चराचुरुङ्गी र जडीबुटीसमेत पाइन्छन्।
खोटाङ, भोजपुर, सोलुखुम्बु र सङ्खुवासभाको सीमामा फैलिएको यो पदमार्ग किराँत सभ्यतासँग जोडिएको ऐतिहासिक क्षेत्र हो। टेम्केडाँडा हुँदै मैयुङ, साल्पापोखरी र सिलिचुङसम्म पुग्ने यो यात्रा विदेशी पर्यटकलाई करिब १३ दिन र नेपालीलाई करिब १० दिन लाग्ने बताइएको छ।
ठूल्ठूला घाँसेमैदान, चौँरीखर्क, भेडीगोठ र घोडचढीको अनुभवले पर्यटकलाई थप आकर्षित गर्दै आएको छ। साथै स्थानीय गोठवालाले गोठ–स्टे (गोठवास) को व्यवस्था गरी चौँरीको दूध, ढिँडो, स्थानीय कुखुरा, सागसब्जी जस्ता परिकार उपलब्ध गराउँदै आएका छन्, जसले पर्यटकलाई मौलिक स्वादसँगै संस्कृति अनुभूति गराउने गरेको छ।


प्रतिक्रिया