स्पेनमा प्रचण्ड गर्मीका कारण जनजीवन प्रभावित

स्पेनमा प्रचण्ड गर्मीका कारण जनजीवन प्रभावित


ग्लोब नेपाल
0
Shares

युरोपेली मुलुक स्पेन यतिबेला प्रचण्ड गर्मी र तातो हावाको चपेटामा परेको छ । तापक्रम ४० डिग्री सेल्सियस नाघेसँगै जनजीवन नराम्ररी प्रभावित भएको छ भने गर्मीकै कारण ज्यान गुमाउनेहरूको संख्या पनि बढ्दो छ ।

स्पेनको राज्य मौसम विज्ञान एजेन्सीकाअनुसार सन् १९६१ पछिको यो दोस्रो उच्च गर्मी रेकर्ड गरिएको जुन महिना हो । यस अवधिमा स्पेनका विभिन्न स्थानमा तापक्रमका ३०० भन्दा बढी पुराना रेकर्डहरू तोडिएका छन् ।

स्वास्थ्य मन्त्रालयको दैनिक मृत्यु अनुगमन प्रणालीको तथ्याङ्कअनुसार तातो हावा र अत्यधिक गर्मीका कारण जुन महिनामा मात्रै १ हजार २८ जनाको मृत्यु भएको छ । यो सन् २०१५ पछिकै सबैभन्दा घातक जुन महिना सावित भएको छ ।

गर्मीको लहर तिब्र भएपछि स्पेनको करिव ७३ प्रतिशत जनसंख्या अर्थात ३ करोड ५७ लाख मानिस बसोवास गर्ने क्षेत्रमा स्वास्थ्य शतर्कता (हेल्थ अलर्ट) जारी गरिएको छ । विशेषगरी वृद्धवृद्धा, बालबालिका र दीर्घ रोगीहरूलाई उच्च जोखिममा रहेको भन्दै सतर्क रहन आग्रह गरिएको छ ।

बढ्दो तापक्रमबाट राहत दिन बार्सिलोना लगायतका शहरहरूमा विशेष व्यवस्था गरिएको छ । बार्सिलोना महानगरले पुस्तकालय, पार्क, र सामुदायिक केन्द्रहरूसहित ५ सय भन्दा बढी ‘क्लाइमेट सेल्टर’ (वातानुकूलित आश्रयस्थल) सञ्चालनमा ल्याएको छ । यी स्थानहरूमा तापक्रम २६ डिग्री सेल्सियस आसपास कायम गरी सर्वसाधारणलाई शितलता प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।

अत्याधिक गर्मीका बावजुद स्पेनमा पर्यटकहरूको आगमन भने जारी छ । पर्यटकहरूले सार्वजनिक धाराहरूमा पानी भर्ने, छाताको प्रयोग गर्ने र शितल स्थानको खोजी गर्ने गरिरहेका छन्। स्थानीय बासिन्दाहरूले पनि गर्मीबाट बच्न आफ्नो दैनिक तालिकामा परिवर्तन गरेका छन् ।

वैज्ञानिकहरूकाअनुसार स्पेनको औसत वार्षिक तापक्रम सन् १९६० को दशकदेखि यता करिब १.८ डिग्री सेल्सियसले वृद्धि भएको छ । जलवायु परिवर्तनका कारण तातो हावा चल्ने समय अवधि हरेक दशकमा औसत तीन दिनले बढ्दै गएको मौसमविद्हरूको ठहर छ ।

मौसम पूर्वानुमानअनुसार गर्मीबाट तत्काल राहत मिल्ने संकेत देखिएको छैन । आईतवारदेखि स्पेनमा फेरि अर्को हिट वेभ (तातो हावाको लहर) शुरु हुने र देशको दक्षिणी भागमा तापक्रम ४४ डिग्री सेल्सियससम्म पुग्न सक्ने चेतावनी दिइएको छ । अधिकारीहरूले सर्वसाधारणलाई प्रशस्त पानी पिउन, घाममा धेरै समय नबस्न र स्वास्थ्यको विशेष ख्याल राख्न अपिल गरेका छन् ।