न्युयोर्क । मानवताको अन्तर्आत्मालाई नै झकझकाउने गरी एक क्रूर आमा जोडिएको एउटा स्तब्ध पार्ने घटना सार्वजनिक भएको छ। अमेरिकाको ओक्लाहोमा राज्यमा ३४ वर्षीया एक महिलालाई आफ्नी ११ वर्षीया छोरीमाथि भएको यौन दुर्व्यवहारमा सघाएको तथा उनी माथिको दुर्व्यवहार रोक्न वा बचाउ गर्न असफल भएको अभियोगमा दोषी ठहर गरिएको छ।
अभियोजन पक्षका अनुसार ती महिलाले आफ्नै पतिबाट छोरीमाथि भएको यौन दुर्व्यवहार रोक्न कुनै कदम चालिनन् र छोरी गर्भवती भए पछि पनि कुनै पनि चिकित्सकीय सहयोग बिना घरमै बच्चा जन्माउन लगाइन्। यस घटनाका मुख्य अभियुक्त ३५ वर्षीय डस्टिन जोएल वाकर हुन्।
पीताले आफ्नी नाबालिग छोरी माथि यौन दुर्व्यवहार गरेको आरोप स्वीकार गरेका छन । अदालतले उनलाई ४२ वर्षको जेल सजाय सुनायो, जुन वास्तवमा आजीवन कारावास सरह हो। उनलाई यौन अपराधीको रूपमा पनि सूचीकृत गरिएको छ।
११ वर्षीया बालिकाले घरमै बच्चा जन्माएको जानकारी अधिकारीहरूले पाएपछि यो घटना सार्वजनिक भएको हो। अनुसन्धानबाट यो कुरा खुल्यो कि गर्भावस्थाको समयमा उनलाई कहिल्यै चिकित्सककहाँ लगिएको थिएन। डीएनए परीक्षणबाट नवजात शिशुको जैविक पिता ती बालिकाकै आफ्नै बुबा भएको पनि पुष्टि भयो।
अनुसन्धानकर्ताहरूका अनुसार ती बालिकामाथि करिब एक वर्षसम्म निरन्तर यौन दुर्व्यवहार भएको थियो। उक्त अपराध लुकाउनका लागि उनका अभिभावकले उनलाई विद्यालय पठाउनसमेत बन्द गरेको आरोप छ। अनुसन्धानबाट यो पनि खुलेको छ कि उक्त परिवार अत्यन्तै अस्वच्छ अवस्थामा बसिरहेको थियो।
घरमा ६ जना बालबालिका बस्दै आएका थिए र विगत दुई तीन वर्षदेखि त्यहाँ नियमित पानीको आपूर्तिसमेत थिएन। बालिकाकी हजुरआमा पनि सोही घरमा बस्दै आएकी थिइन् । उनले आफूलाई उक्त अपराधबारे कुनै जानकारी नभएको दाबी गरे पनि प्रहरीले उनीमाथि पनि अनुसन्धान सुरु गरेको छ।
मस्कोजी काउन्टीको ज्युरीले ती महिलालाई बाल यौन दुर्व्यवहारलाई बढावा दिएको, बालबालिकाको हेरचाहमा लापरबाही गरेको तथा अन्य ६ वटा आपराधिक अभियोगमा दोषी ठहर गरेको छ। उनलाई छिट्टै सजाय सुनाइने छ र उनले आजीवन कारावासको सजाय भोग्नुपर्ने हुन सक्छ।
सुनुवाइका क्रममा न्यायाधीशले कुनै पनि चिकित्सकीय सहयोग बिना ११ वर्षीया बालिकाले घरमै बच्चा जन्माएको घटना वास्तवमै भयावह र मर्माहत पार्ने खालको रहेको टिप्पणी गरे। अधिकारीहरूले हाल उक्त घरमा फेला परेका सबै बालबालिकालाई राज्यको नियन्त्रणमा लिएका छन्।


प्रतिक्रिया