भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरोले दुईवटा तस्बिर सार्वजनिक गरेका छन् । जसमा उनी संयुक्त राज्य अमेरिकाको एउटा हिरासत केन्द्रमा देखिएका छन्। गत जनवरीमा नियन्त्रणमा लिइएपछि उनलाई त्यहाँ राखिएको हो।
अमेरिकी विशेष फौजले भेनेजुएलाको राजधानी काराकासबाट मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिई हवाई मार्गमार्फत अमेरिका पुर्याएको थियो। लागुऔषध ओसारपसार र अवैध रूपमा हतियार राखेको आरोपमा उनीहरूलाई न्युयोर्कको ब्रुकलिनस्थित हिरासत केन्द्रमा राखिएको छ, यद्यपि उनीहरूले यी आरोपहरू अस्वीकार गर्दै आएका छन्।
‘म मेरा सबै नातिनातिना, बालबालिका र हामीलाई माया गर्ने सबै असल मानिसहरूका लागि सानो उपहारस्वरूप यी तस्बिरहरू पठाउँदै छु,’ मादुरोले सामाजिक सञ्जाल प्लेटफर्महरू एक्स र टेलिग्राममा स्पेनिस भाषामा लेखेका छन्।
‘हामी तपाईंहरूको मायाले भरिएको हृदयका साथ दृढ भएर उभिएका छौं भन्ने कुरा तपाईंहरूलाई थाहा होस् भन्ने म चाहन्छु,’ उनले लेखेका छन, ‘हामी बलिया, शान्त र विश्वस्त रहनेछौं, ईश्वर हामीसँग हुनुहुन्छ। ईश्वरले नै सबै व्यवस्था गर्नुहुनेछ। भेनेजुएला फेरि उठ्नेछ।’
अमेरिकी हिरासतबाट सार्वजनिक भएका मादुरोका यी दुई तस्बिरमा उनले खरानी रङको ट्र्याकसूट लगाएको र हातले ‘शान्तिको संकेत’ देखाइरहेको देखिन्छ। नियन्त्रणमा लिइएपछि उनको तौल निकै घटेको अनुमान गर्न सकिन्छ।
यी पोस्टहरू आइतबार सार्वजनिक गरिएका भए पनि तस्बिरहरूमा रहेको समय संकेतले ती जुन २५ मा खिचिएको देखाउँछ। उक्त मिति भेनेजुएलाको उत्तरी क्षेत्रमा दुईवटा विनाशकारी भूकम्पले ६,५०० भन्दा बढी मानिसको ज्यान लिएको र व्यापक क्षति पुर्याएको भोलिपल्टको थियो।
अन्तराष्ट्रिय समाचार संस्थाहरूले ती तस्बिरहरू सक्कली हुन् वा होइनन् तथा तिनलाई सार्वजनिक गर्ने अनुमति दिइएको थियो या थिएन भन्ने बुझ्न हिरासत केन्द्रसँग सम्पर्क गर्ने प्रयास गरे पनि तत्काल कुनै प्रतिक्रिया पाउन सकेको छैनन्।
मादुरोकी उत्तराधिकारी तथा अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले भेनेजुएलामा अमेरिकी कम्पनीहरूलाई तेल खानी सञ्चालन गर्न अनुमति दिने ‘ऐतिहासिक तेल सम्झौता’ को घोषणा गरेको दुई दिनपछि यो सन्देश सार्वजनिक भएको हो।
पूर्वनेता निकट स्रोतका अनुसार जेलमा मादुरोसँग पत्रपत्रिका वा इन्टरनेटको पहुँच छैन् तर उनलाई आफ्नो परिवार र वकिलहरूसँग फोनमा कुरा गर्न अनुमति दिइएको छ, जसमा प्रति कल बढीमा १५ मिनेट र महिनामा करिब ३०० मिनेटसम्म कुरा गर्न पाइन्छ।
न्युयोर्कस्थित एक संघीय अदालतले जुलाईको अन्त्यतिर घोषणा गरे अनुसार अमेरिकामा मादुरो र उनकी पत्नीको मुद्दाको सुनुवाइ सन् २०२७ को जुन १ देखि सुरु हुनेछ।


प्रतिक्रिया