सशस्त्रका एआईजी दाहाल निलम्बित

सशस्त्रका एआईजी दाहाल निलम्बित


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत कार्य गरेको आरोप लागेका सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बनमा परेका छन्।

गृह मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरणविपरीत कार्य गरेको भन्ने विषयमा सशस्त्र प्रहरी बल, नेपालबाट कारबाहीका लागि मन्त्रालयमा सिफारिस प्राप्त भएको थियो।

सोही सिफारिसका आधारमा मन्त्रालयले दाहालमाथि लागेको अभियोगको जाँचबुझ प्रक्रिया अघि बढाएको हो। मन्त्रालयको असोज १९ गतेको निर्णयअनुसार उक्त विषयमा जाँचबुझ गर्न जाँचबुझ अधिकृतसमेत तोकिएको छ।

तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
गृह मन्त्रालयले तोकिएका जाँचबुझ अधिकृतलाई दाहालमाथि लागेको अभियोगका सम्बन्धमा आवश्यक जाँचबुझ गरी तीन दिनभित्र प्रतिवेदन मन्त्रालयमा पेस गर्न निर्देशन दिएको छ।

मन्त्रालयले निजामती तथा प्रहरी कर्मचारीले पालना गर्नुपर्ने पदीय आचरणसम्बन्धी व्यवस्था प्रचलित कानुनमा स्पष्ट रहेको जनाएको छ। प्रत्येक सशस्त्र प्रहरी कर्मचारीले आफ्नो सेवा र पदअनुसारको आचरण पालना गर्नुपर्ने तथा सुरक्षासँग सम्बन्धित संवेदनशील सूचनाको संरक्षण र गोपनीयता कायम गर्नुपर्ने कानुनी व्यवस्था रहेको मन्त्रालयले उल्लेख गरेको छ।

आचरणविपरीत गतिविधिमाथि निगरानी
गृह मन्त्रालयले मातहतका कर्मचारीबाट हुने पदीय आचरणविपरीतका गतिविधि, संवेदनशील तथा गोप्य सूचनाको चुहावट र शान्ति सुरक्षामा प्रतिकूल असर पार्न सक्ने गतिविधिमाथि सूक्ष्म निगरानी तथा विश्लेषण भइरहेको जनाएको छ।

कानुन विपरीत हुने हरेक गतिविधि वा घटनामा संलग्न जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयले विधिको शासन, कानुनको परिपालना तथा सार्वजनिक शान्ति सुरक्षाको संरक्षणप्रति प्रतिबद्ध रहेकोसमेत जनाएको छ।

दाहालको पदावधि थपका लागि यसअघि सशस्त्र प्रहरी मुख्यालयले गृह मन्त्रालयमा पत्राचार गरेको थियो। सशस्त्र प्रहरी नियमावलीअनुसार उनको चार वर्षे पदावधि सकिन लागेको र सरकारले चाहेमा एक वर्ष थप गर्न सक्ने व्यवस्था रहेको छ।

यसअघि दाहाललाई ‘चेन अफ कमान्ड’ उल्लंघन गरेको विषयमा स्पष्टीकरण सोधिएको विवरणसमेत सार्वजनिक भएको थियो।