बूढीगण्डकी बाढीमा पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार (अपडेट)

बूढीगण्डकी बाढीमा पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार (अपडेट)


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच जना सम्पर्कविहीन भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुब्री गाउँपालिका–६ चुम्चेतस्थित उङ्लिुङका दुई महिला र तीन पुरुष परिवारको सम्पर्कविहीन भएका छन् ।

प्रभावित क्षेत्रबाट नेपाली सेनाको चार वटा हेलिकप्टर परिचालन गरी हालसम्म नौ विदेशीसहित ८२ जनाको उद्धार गरिएको प्राधिरणका प्रवक्ता शान्ति महतले जानकारी दिइन् ।

बाढीबाट दुई वटा पक्की र दुई वटा झोलुङ्गे पुल, तीन वटा जलविद्युत् आयोजना, चार वटा हवन कुण्ड, ४५ घरमा पूर्ण र २७ घरमा आंशिक क्षति पुगेको छ । यस्तै ३४ गोठ र १३ वटा बङ्गुरको खोर तथा तीन वटा सवारीसाधनमा बाढीले क्षति पु¥याएको छ ।

गोरखाको चुमनुब्री गाउँपालिका–६ चुम्लिङ नजिकै उङ्गिलुङ खोलाबाट गेग्रानसहितको बहाव आई स्यार खोला थुनिएर बाढी आएको प्राधिकरणको प्रारम्भिक विश्लेषण छ । सो बाढीको थप अध्ययन भइरहेको छ ।

प्रभावित क्षेत्रमा ५० वटा टेन्ट, ५० वटा त्रिपाल, २०० वटा म्याट्रेस, २०० वटा ब्लाङ्केट, २०० वटा स्लिपिङ व्याग, १०० वटा सोलार लाइट, ५० वटा भान्छाका सामान, १० वटा जेनेरेटर, १३० वटा ज्याकेट, २० वटा हाइजिन किट, ९० वटा खानाको प्याकेट, १० वटा बेबी बास्केट र २० वटा रोयल व्याग पठाइएको प्राधिकरणले जनाएको छ ।

बाढीका कारण पत्ता लगाउन ड्रोन तथा भूगर्भविद्सहितको तीन जनाको टोली परिचालित गरिएको प्राधिकरणले जनाएको छ । यस्तै नेपाली सेनाबाट तीन वटा विशेष फौजसहित १७१, नेपाल प्रहरीबाट १४३ र सशस्त्र प्रहरी बलबाट ३८९ गरी ७०३ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालित भएका छन् ।