प्रचण्डको ‘क्रान्तिकारी’ छलाङ !

प्रचण्डको ‘क्रान्तिकारी’ छलाङ !



देशको आर्थिक अवस्था समस्याग्रस्त भएको समयमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नी नातिनीको विवाह भव्य रुपमा सम्पन्न गरेका छन् । कानुनले निश्चित गरेको सीमाभित्र रहन नचाहनु आफैमा दण्डहिनता र अराजकता त हुँदै हो, त्यसमा पनि सर्वहारा कम्युनिष्ट पार्टीको अध्यक्ष दाबी गर्ने र अन्य कार्यकर्तालाई ‘जनवादी’ विवाह गर्न उक्साउने दाहालहरुले प्रस्तुत गरेको यस्तो ‘नमूना’ ले आम मानिसको ध्यान खिचेको छ । ब्याङ्ग्यात्मक रुपमा नै आएको किन नहोस्, प्रधानमन्त्रीको ‘क्रान्तिकारी छलाङ! को प्रतिक्रिया ब्यापक छ । सामान्य मानिसलाई ‘बेकुफ’ बनाउने ‘प्रचण्ड कला’ तारिफयोग्य नै छ । अझै केही कार्यकर्ता यस्ता छन् जसलाई आलोचना सुन्ने सामान्य शिष्टता पनि छैन । दाहालले पेश गरेको भद्दा मजाक पनि उनीहरुका लागि ‘क्रान्तिकारी रुपान्तरण’ भएको छ । वास्तवमा माओवादीका सुप्रिमो दाहाल यति धेरै स्खलित र प्रथभ्रष्ट होलान् भन्ने अनुमान थिएन ।

कम्युनिष्टहरु बिग्रिएपछि काम नलाग्ने नै हुन्छन् भन्ने लोकोक्ति क्रमशः सार्थक बन्दै गएको छ । राष्ट्रिय जिम्मेवारीको गहनतालाई समेत भुलेर संसदको तेस्रो ठूलो दलले पाएको नेतृत्वदायी अवसरलाई चरम दुरुपयोग गर्ने काम भएको छ । यसतर्फ ‘दास’ कार्यकर्ताहरुको ध्यान नै गएन । अन्य दाहालका अनुयायीहरुले प्रतिवाद वा प्रतिरोध गर्न नसके पनि इमान्दार र निष्ठावान कम्युनिष्ट कार्यकर्ताहरुले भ्रष्ट र भडकिलो वैवाहिक कार्यक्रम बहिष्कार त गर्न सक्थे । त्यो पनि केहिँकतै देखिएन, सुनिएन । महँगो होटलमा बनेका महँगा परिकारहरु खान र त्यहाँको विलासीपूर्ण सजावटसँग मन्त्रमुग्ध हुन ‘सर्वहारा कम्युनिष्ट कार्यकर्ताहरुको’ तछाड र मछाड नै देखियो । के यही हो रुपान्तरण ? चमत्कार गरेर देखाउने दाहालको उद्घोष यस्तै हो ? महानगर प्रमुखकी छोरी, प्रधानमन्त्रीको नातिनीले, कम्युनिष्ट कार्यकर्ताले गर्ने विवाहको ‘सार्वजनिक प्रदर्शन’ यस्तै हुन्छ ? ‘कथित जनयुद्ध’ जनआन्दोलन यस्तै ‘नयाँ वर्ग’ जन्माउनका लागि नै थियो ? युगोस्लाभका कम्युनिष्ट नेता मिलोभान जिलासले कम्युनिष्ट पार्टी सत्तामा गएपछि ‘नयाँ वर्ग’ जन्मिन्छ भनेको यही होइन र ? दाहाल परिवारको आलिसान महल, भव्य महँगो जीवनशैली, विलासी जीवन र सार्वजनिक प्रस्तुतिले ‘नयाँ वर्ग’ जन्माएको स्पष्ट भएन र ?

अझै के झर्छ र खाउँला भनेर इमान्दार कार्यकर्ता पछि लागिरहेका छन् । न विद्रोह गर्न सक्ने न त विरोध नै, न नेतृत्वलाई रोक्न सक्ने न त सचेत नै बनाउन । दास, अवसरवादी, दलाल र तस्करहरुलाई त ठीकै छ, लुटलाट गर्नेहरुलाई स्वर्ण अवसर नै हो, भ्रष्टहरुका लागि उर्भरभूमि नै भएको छ । इमान्दार, असल, निष्ठावान देश र जनताप्रति बफादार जमात पनि त होला । के कार्यकर्ताले विद्रोहको आगो ओकल्नुपर्ने होइन ? के सबै दाहालका सामु भ्रष्टाचारका अगाडि दलाल, तस्कर र डनहरुबाट आतंकित नै भएका हुन् ? सबैलाई बन्धक नै बनाएका छन् कि के हो ? कहीँ कतै आवाज सुनिदैन । कम्युनिष्ट पार्टीभित्र आँधिबेहरी आउनुपर्ने होइन ? नेपालजस्तो देशमा कम्युनिष्ट पार्टीका नेताहरुको जीवनशैली यस्तै महँगो र विलासी हुन्छ ? यसको जवाफ कसले दिने ?

कानुन नमान्नु कम्युनिष्टहरुका लागि सामान्य होला । तर विचार, सिद्धान्त, आदर्श र चरित्र नै ध्वस्त बनाएको नेतृत्वको पछि लाग्नु आत्महत्यासरह होइन ? किन आवाज आउँदैन, किन बोलिँदैन, किन सुनिँदैन । विद्रोह भन्ने शब्दको अर्थ भुलिसके कार्यकर्ताले । कार्यकर्ता सबै खाडी कतार गए कि युक्रेन–रुसका सेना भएर बन्दुक चलाउँदै मारिदै छन् ? पुष्पकमल दाहाल प्रधानमन्त्री भएर नातिनीको भव्य, महँगो विवाह गर्ने तर ‘जनयुद्ध’ का लडाकुहरु खाडी कतार, रुस र युक्रेनमा मारिनुपर्ने नै हो– रुपान्तरण र चमत्कार ? प्रधानमन्त्री दाहाल र महानगर प्रमुख दाहालले खर्चको श्रोत र विवरण सार्वजनिक गर्नुपर्ने कि नपर्ने ? सार्वजनिक जीवनका उपल्लो तहमा बसेका पदाधिकारीहरुले जवाफदेही बन्नु नपर्ने अनि सामान्य मानिसले कठघरामा उभिनुपर्ने ? यस्तै हो सुशासन ? कानुनको शासनमा यस्तै हो ? सबैलाई समान व्यवहार भयो ? सर्वहाराको अधिनायकत्वमा यस्तै हुन्छ होला तर लोकतान्त्रिक गणतन्त्र भएको देशमा यस्तो छुट छैन– प्रधानमन्त्रीले सार्वजनिक रुपमा क्षमायाचना मात्र होइन श्रोत खुलाउनुपर्छ, कारबाहीको दायरामा आउनुपर्छ । यस्तो महँगो वैवाहिक समारोह आयोजना गर्ने अधिकार कानुनले दिएको छैन ।

प्रधानमन्त्रीबाट कानुन विपरित काम भएको छ । उनलाई अधिकतम सजाय गर्नुपर्छ । कोरोनाकालमा भोजभतेरमा सामेल भएको विषय विवादस्पद भएपछि बेलायतका तत्कालिन प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा गर्नुपरेको थियो, गरेका छन्, छोडेका छन् । यस्ता धेरै उदाहरण छन् । देश टाट पल्टिन लागेको समयमा भएको खर्च कहाँबाट आयो ? कुन तस्कर र माफियाले गरे त्यसको जवाफदेहिता प्रधानमन्त्रीमा रहन्छ । उनले तत्काल राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्छ । अराजकता र दण्डहिनतालाई संस्थागत गर्ने र प्रोत्साहित गर्ने काम राज्यका पदाधिकारीबाट हुनु दुखद हो । यस्ता विषयहरुमा बोल्न नसक्ने व्यक्ति कसरी लोकतन्वादी हुन्छ ? कसरी कम्युनिष्ट कार्यकर्ता हुन्छ ? यसको प्रमुख र असरका बारेमा आफ्नो धारणा राख्न नसक्ने व्यक्तिले सार्वजनिक पदमा ओहोदा कायम राख्न सक्दैन । राजनीतिक नेतृत्वप्रति चौतर्फी आलोचना असन्तुष्टि र आक्रोस बढिरहेको हेक्का नराख्ने, देशको आर्थिक दुरावस्था, महँगी, बेरोजगार, अशिक्षा तथा गरिबीप्रति बेखबर हुने, दलाल तस्कर र माफियासँग हिमचिम बढाउने, खरिदबिक्री गरेर राज्यसंयन्त्रका जिम्मेवारीहरुको भागवण्डा गर्ने, इमान्दार, सक्षम र योग्यहरुलाई पाखा लगाउने नियुक्तिहरुमा व्यापक आर्थिक चलखेल गर्ने, महँगो जीवनशैली अपनाउने, चाकरीबाजहरुसँग रमाउने, युवा जनशक्तिलाई विदेश पलायन हुन बाध्य बनाउने आदि इत्यादि कर्ममा अभ्यस्त नेतृत्वसँग खासै अपेक्षा राख्नु नहुने हो ।

उनीहरु कहिल्यै देशकाप्रति इमान्दार, जवाफदेही र प्रतिबद्ध हुँदैनन । आफ्नो स्वार्थ र अनुकूलताको लागि जुनसुकै मूल्य चुकाउन तयार हुन्छन् । न्यायालयमा समेत प्रवेश गरेर न्याय मार्ने काम, खरिद बिक्री गर्ने तथा राजनीतिक सन्तुलन कायम गराउने किसिमका आदेश र फैसला गराउने भूमिका निर्वाहा गर्छन् । यसले राज्यका सम्पूर्ण संरचनाहरुको चरम राजनीतिकरण र भ्रष्टिकरण गरेको छ, गैरजिम्मेवार र अविश्वसनीय बनाएको छ । यसतर्फ कसैको ध्यान छैन । आफ्नो स्वार्थलाई केन्द्रविन्दूमा राखेर अनेक हर्कतहरु हुने गरेका छन् । काण्डै काण्ड भएका छन् । नेताहरु नै सुन तस्करी, मानव तस्करीमा लागेका छन् । देश खोक्रो बनाएर आफू बलियो बन्ने योजनामा नेपाली राजनीति केन्द्रित छ । राज्यका सबै अंगहरु र त्यहाँ नियुक्त हुने पदाधिकारीहरुलाई आफ्नै वरिपरी घुमाउने र इसारामा चल्ने बनाइँदैछ । राज्यसँग पैसा नहुने तर नेताहरुसँग जति पनि खर्च गर्न हुने भनेको के हो ? राज्य असफल बनाउने आफू सम्पन्न हुने होइन ? त्यही अभियानमा अभिमुख भएको छ– नेपाली राजनीति, समाज र संस्कृति । कम्युनिष्ट विचार र दर्शन त झन तस्करी, काण्ड, दलाली र भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । यहाँबाट कसले निकाल्ने र सफा गर्ने अहँ सवाल खडा भएको छ ।