काठमाडौँ । भुटानी शरणार्थी नेता टेकनाथ रिजालले अदालतले तोकेको धरौटी रकम बुझाएका छन् । आइतबार दिउँसो काठमाडौँ जिल्ला अदालतमा १५ लाख रुपैयाँ धरौटी रकम बुझाएका उनले अदालतबाट छुट पुर्जी पनि लिएका छन् । तर कार्यालय समय सकिएकाले उनी रिहा हुन पाएनन् ।
केन्द्रीय कारागार कार्यालयका अनुसार उनी सम्भवतः बुधबार रिहा हुनेछन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका आरोपी रिहा हुने स्थितिमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई बुझाउन केन्द्रीय कारागारलाई आग्रह गरेको छ ।
शरणार्थी प्रकरणका आरोपीसँग यी दुई निकायले पनि अनुसन्धान गरिरहेका छन् । तर सोमबार र मङ्गलवार सरकारी कार्यालय बिदा परेका कारण रिजाललाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा बुझाउन नसकिने भएकाले थुनामै रहने केन्द्रीय कारागार स्रोतले बताएकाे छ ।


प्रतिक्रिया