बासस्थान र आहाराको अभावमा लोप हुँदै हुचिल

बासस्थान र आहाराको अभावमा लोप हुँदै हुचिल



उदयपुर । दुर्लभ पक्षी हुचिल बासस्थान र आहारा अभावमा संकटमा पर्दै गएको छ । विशेषगरी चिउरी, गायोको रुखमा बस्न मनपराउँने पक्षी हुचिल गाउँघरमा यस्ता बोट नहुँदा पनि समस्यामा परेका छन् ।

गाउँघर एवं जंगल क्षेत्रमा विगतमा सहजै पाइने हुचिल अहिले देखिन छोडेका उदयपुरको बेलका नगरपालिका–८ मैनामैनीका दलबहादुर राई बताउछन् ।

उदयपुरको बेलका नगरपालिकाको मैनामैनी, बबला, चम्पाकोट, बोप्ताङ, चौदण्डीगढी नगरपालिकाको चौदण्डी, सिद्धीपुर क्षेत्रतिर हिउँद र बर्खायाममा सहजै देख्न पाइने दुर्लभ पक्षी हुचिल हिजो आज देख्न नै मुश्किल रहेको स्थानीय बासिन्दा बताउँछन् ।

‘दश, बाह्र वर्ष अगाडिसम्म हिउँद/वर्षा दुवै याममा गाउँघरमा रुख–रुख बसेर कराउने गर्थे, तर हिजोआज हुचिल बस्ने बासस्थान मानिसले मासी सके, खाने कुरा आहाराको पनि अभाव छ’ चौदण्डी गढी नगरपालिका सिद्धीपुरका धनबहादुर पुलामीमगरले भने,‘ आजकल हुचिलको आवाज नै सुनिँदैन ।’

पछिल्ला वर्ष हुचिल मात्रै नभएर अरु पक्षीहरू पनि समस्यामा पर्दै गएका नेपाल पक्षी संरक्षण संका उपाध्यक्ष एवम् चराविद् विमल थापाले बताए ।