मन्त्रीको गाडी जलाइएपछि बालकुमारी क्षेत्र तनावग्रस्त

मन्त्रीको गाडी जलाइएपछि बालकुमारी क्षेत्र तनावग्रस्त



काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूको आन्दोलनका कारण ललितपुरको बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरुले मन्त्रीको गाडीमा नै आगजानी गरेका छन् ।

शुक्रबार मध्यान्ह भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा प्रदर्शनकारीहरुले आगजनी गरेका हुन् । आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले प्रदर्शनकारीलाई तितर वितर बनाउन अश्रुग्यास प्रहार गरेको छ ।

आगजनीबाट बा २ झ ५८६१ नम्बरको गाडी ध्वस्त बनेको छ भने मन्त्री भने सुरक्षित छन् । अहिले आन्दोलनका कारण कोटेश्वर–कलंकी सडकको यातायात प्रभावित भएको छ ।

ईपीएस कोरिया शाखाले सिपबिल्डिङमा आवेदन दिएकामध्ये १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने बताएपछि बाँकीले आन्दोलन थालेका हुन् ।

सिपबिल्डिङमा परीक्षा दिएकाहरुले कोरिया भाषा परीक्षामा भाग लिन नपाउने भनेपछि १८ जनाले पाटन उच्च अदालतमा मुद्दा हालेका थिए । अदालतले पनि भाषा परीक्षामा भाग लिन फर्म भर्न दिनू भनेर आदेश दिएको थियो ।

तर, शाखाले भने मुद्दा हालेका १८ जनालाई मात्रै भाषा परीक्षामा सहभागी हुन दिएपछि अन्य आक्रोशित भएका हुन् ।