काठमाडौँ । आइसिसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिम दक्षिण अफ्रिकातर्फ प्रस्थान गर्दैछ । नेपाली क्रिकेट टिमलाई आज नेपाल क्रिकेट संघ (क्यान) ले विदाइ गरेको हो । नेपाल यू–१९ टोली शुक्रबार साँझ ५.३० मा कतारको दोहा हुँदै जोहानेसबर्ग पुग्ने कार्यक्रम छ ।
आगामी १९ जनावरीदेखि दक्षिण अफ्रिकामा हुने प्रतियोगितामा देव खनालले नेपाली टिमको कप्तानी गर्नेछन् । दक्षिण अफ्रिकामा नेपालले एक साता प्रशिक्षण गर्नेछ । एक सातापछि नेपालले सुरुमा वाम अप खेल खेल्नेछ भने त्यसपछि विश्वकपका खेल खेल्नेछ ।
यसपटकको विश्वकपमा नेपालसहित १६ टिमले भाग लिँदैछन् । विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् ।
नेपालले पहिलो खेल २१ जनावरीमा न्युजिल्यान्डसँग खेल्नेछ । यस्तै २४ जनावरीमा पाकिस्तान र २७ जनावरीमा अफगानिस्तानसँग खेल हुनेछ । त्यसअघि नेपालले १३ जनावरीमा स्कटल्याण्ड र १६ जनावरीमा वेस्ट इन्डिजसँग वाम अप खेल खेल्नेछ ।
नेपालले सन् २०१६ पछि यू-१९ विश्वकप खेल्न लागेको हो । यसअघि नेपालले सन् २००० मा श्रीलंका, २००२ मा न्युजिल्यान्ड, २००४ मा बंगलादेश, २००६ मा श्रीलंका, २००८ मा मलेसिया, २०१२ मा अस्ट्रेलिया र २०१६ मा बंगलादेशमा यू–१९ विश्वकप खेलेको थियो ।
नेपाली टिम
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे,दुर्गेश गुप्ता, गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहरा ए, दिपक बोहरा बी, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द
प्रतिक्रिया