दक्षिण अफ्रिकाद्वारा इजराइलमाथि नरसंहार महासन्धिको उल्लंघन गरेको आरोप

दक्षिण अफ्रिकाद्वारा इजराइलमाथि नरसंहार महासन्धिको उल्लंघन गरेको आरोप



दि हेग । दक्षिण अफ्रिकाले बिहीबार इजराइलमाथि संयुक्त राष्ट्रसंघीय नरसंहार महासन्धिको उल्लंघन गरेको आरोप लगाएको छ । अक्टोबर ७ मा हमासले गरेको घातक हमलाले पनि त्यस्ता कथित कार्यहरूलाई औचित्य पुष्टि गर्न नसक्ने उसले बताएको छ ।

प्रिटोरियाले इजराइललाई उसको सैन्य कारबाही ‘तत्काल निलम्बन’ गर्न बाध्य बनाउनका लागि अन्तर्राष्ट्रिय न्यायालय (आइसिजे) मा तत्काल अपिल गरेको छ । इजराइलले उक्त मुद्दालाई ‘आततायी’ र ‘हास्यास्पद’ भन्दै अस्वीकार गरेको छ र शुक्रबार प्रतिरक्षा गर्ने बताएको छ ।

“राज्यको क्षेत्रमा कुनै पनि सशस्त्र हमला जति नै गम्भीर नै किन नहोस्, महासन्धिको उल्लंघनलाई औचित्य प्रदान गर्न सक्तैन वा त्यसको बचाउ गर्न सक्तैन”, प्रिटोरियाका न्यायमन्त्री रोनाल्ड लामोलाले भने, “अक्टोबर ७ को हमलालाई लिएर इजराइलको प्रतिक्रियाले यो सीमालाई पार गरेको छ र महासन्धिको उल्लंघनलाई जन्म दिएको छ ।”

हमासले इजराइली क्षेत्रमा अभूतपूर्व हमला गरेपछि युद्ध सुरु भएको हो । आधिकारिक आँकडाका आधारमा एएफपीका अनुसार हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित करिब एक हजार एक सय ४० जना मारिएका थिए । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजराइलले लगातार गरेको सैन्य कारवाहीमा अधिकांश महिला तथा बालबालिकासहित गाजामा कम्तीमा २३ हजार तीन सय ५७ को मृत्यु भएको छ ।

गाजा र इजराइलमा मृत्यु र विनाशभन्दा टाढा हेगस्थित पिस प्यालेसमा वकिलहरूले प्राविधिक कानूनी दलिलका साथ यसको मुकाबिला गरेका छन् । इजराइलले राष्ट्रसङ्घीय नरसंहार महासन्धिअन्तर्गत आफ्ना प्रतिबद्धताहरू तोडेको दक्षिण अफ्रिकाले तर्क दिएको छ । सन् १९४८ मा उक्त महासन्धिमा हस्ताक्षर गरिएको थियो ।

“इजराइलको बमबारी अभियानको उद्देश्य ‘प्यालेस्टिनी जीवनको विनाश’ थियो र यसले प्यालेस्टिनीहरूलाई ‘अकालको अवस्थामा’ पुर्याएको थियो”, दक्षिण अफ्रिकाका वरिष्ठ वकिल अदिला हासिमले भने, “नरसंहार कहिले पनि अग्रिम घोषणा गरिँदैन तर यस अदालतमा विगत १३ साताको प्रमाणहरूको लाभ छ जसले नरसंहार कृत्यको प्रशंसनीय दावीलाई न्यायोचित ठहराउने आचरणको ढाँचा र सम्बन्धित मनसाय देखाउँछ ।”

सन्धिको सही हस्ताक्षरकर्ताका रूपमा दक्षिण अफ्रिकाले इजराइललाई आइसिजे लैजान सक्छ । आइसिजेले मुलुकहरूबिचको विवादमा नियमन गर्दछ र यसलाई प्राय ‘विश्व अदालत’ भनेर वर्णन गरिन्छ ।

सत्ताधारी अफ्रिकी राष्ट्रिय कांग्रेस (एएनसी) लामो समयदेखि प्यालेस्टिनी मुद्दाको दृढ समर्थक रहेको छ । इजराइलसँग सहयोगी सम्बन्ध भएको एएनसीले प्यालेस्टिनी मुद्दालाई प्राय श्वेत–अल्पसङ्ख्यक सरकारविरुद्ध आफ्नै संघर्षसँग जोडेको छ ।

दक्षिण अफ्रिकाले इजराइलमाथि नरसंहारको आरोप लगाउने ‘विशेष जिम्मेबारी’ लाई स्वीकार गरेको छ । उसले गाजामा युद्धलाई प्रभावित गर्ने हमासको हमलाहरूको ‘स्पष्टरूपमा’ निन्दा गरेको छ ।