नेपालमा खेलकुदको प्रचुर सम्भावना छ : प्रधानमन्त्री

नेपालमा खेलकुदको प्रचुर सम्भावना छ : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा सम्भावनाका धेरै क्षेत्र भएको र त्यसमा पनि खेलकुद प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताएका छन् ।

नेपाल बादोरियो कराते डो संघद्वारा यहाँ आज आयोजित ‘चौथो राष्ट्रिय बादोरियो खुला कराते प्रतियोगिता’ को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले नेपालमा भर्खरै सम्पन्न दक्षिण एसियाली कराते च्याम्पियनसिप, बङ्गलादेशमा सम्पन्न पाँचौँ दक्षिण एसियाली कराते च्याम्पियनसिप, १९औँ संस्करणको एसियाली खेलकुदलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले राम्रो नतिजा निकालेको उल्लेख गर्दै खेलकुदमा राम्रो सम्भावना भएको बताए ।

प्रधानमन्त्री दाहालले भने, “नेपाल अपार सम्भावनाले भरिपूर्ण देश हो । देशको विकास र प्रगतिका निम्ति हामीसँग प्रशस्त सम्भावना छन् । त्यसमध्ये खेलकुद राम्रो सम्भावना बोकेको क्षेत्र हो । पछिल्लो दशक खेलमा नेपालले गरेको प्रगतिले पनि यो यथार्थलाई पुष्टि गर्दछ । त्यसैले मैले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु ।”

प्रधानमन्त्री दाहालले खेल क्षेत्रको विकासलाई राष्ट्रको बहुआयामिक वृहत्तर हितको मुद्दाको रुपमा अघि बढाउनुपर्ने बताएका छन् । उनले खेल क्षेत्रको विकास केवल युवाहरूको मात्रै मुद्दा मात्रै नभइ राष्ट्रको बहुआयामिक बृहत्तर हितको मुद्दाको रुपमा हेर्न र बुझ्न सक्नुपर्ने बताए । उनले विश्व राजनीति, अर्थतन्त्र, पर्यटनको विकास र अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले समेत खेलकुद क्षेत्र र खेलाडीहरूले राष्ट्रिय पुलको काम गर्न सक्ने बताएका छन् ।

प्रधानमन्त्री दाहालले मूलपानी मैदान तल्लो, मोरङको बैदनाथपुरमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र चितवनको भरतपुरमार रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा समावेश गरिसकेकाले अब द्रुत गतिमा काम अघि बढ्ने बताए ।