पर्वत । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन आज मकर सङ्क्रान्ति स्नान गर्नका लागि पवित्र कालीगण्डकी नदीमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
उत्तरायण सुरु हुने आजको दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिने भएकाले बिहानदेखि कालीगण्डकीका विभिन्न स्थानमा भक्तजनको भीड लागेको हो । कालीगण्डकीअन्तर्गत पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणी धाम, सेतीवेणी, पुर्तिघाट, जैमिनिघाट, नयाँपुललगायत स्थानमा बिहानदेखि भीड लागेको हो । मोदीवेणीमा बिहानदेखि भजनकीर्तन पनि सुरु भएको छ ।
बिहान कालीगण्डकीमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वासका साथ उनीहरु स्नान गर्न आएका हुन् । नजिकका भक्तजन बिहान कालीगण्डकीमा पुगेका छन्भने टाढाटाढाबाट आउनुपर्नेहरु भने आइतबार नै सदरमुकाम कुश्माबजार, फलेवास, शालिग्रामलगायत बजार क्षेत्रमा बसोबास गरी बिहान स्नान गर्न पुगेका हुन् ।
माघे सङ्क्रान्तिका दिन कालीगण्डकीमा स्नान गरेर घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन रहेको छ ।
यसैबीच, पर्वत, स्याङ्जा र गुल्मीका सङ्गमस्थलमा अवस्थित कालीगण्डकी नदीको तट सेतीवेणीमा आज विशेष मेला लागेको छ । तीन जिल्लाको सिमानामा रहेको विश्वकै ठूलो शालिग्राम शिलाको दर्शन गर्न र कालीगण्डकी स्नान गर्नका लागि स्वदेश तथा विदेशबाट भक्तजनको भीड लागेको स्थानीय तिलक पराजुलीले जानकारी दिए ।
कालीगण्डकी ‘ए’ जलविद्युत् निर्माणका क्रममा बनेको जलाशयमा सञ्चालित स्टिमरमार्फत शालिग्रामको दर्शन गर्न आउनेको सङ्ख्या उल्लेख्य रहेको उनले बताए । अन्य चाडपर्वमा भन्दा माघे सङ्क्रान्तिमा यहाँ बढी भीड लाग्ने गर्दछ । उक्त स्थानमा माघे सङ्क्रान्तिमा एक लाखभन्दा बढी आन्तरिक तथा बाह्य भक्तजन आउने गरेका छन् ।


प्रतिक्रिया