रुसी सेनामा भर्ती भएका लमजुङका युवकको मृत्यु

रुसी सेनामा भर्ती भएका लमजुङका युवकको मृत्यु



काठमाडौं । रुसी सेनामा भर्ती भएका लमजुङका एक युवकको मृत्यु भएको छ । लमजुङको दूधपोखरी गाउँपालिका–१ घमारचोकका ३२ वर्षीय साजन गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको खबर प्राप्त भएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिए ।

मृत्यु भएको खबर आउनुभन्दा पहिला लामो समय साजन सम्पर्कबिहीन भएको बताइएको छ ।

मृतक साजनसँगै रुसी सेनामा पुगेका साथीहरुले उनका भाइ कुमार गुरुङलाई उक्त खबर पठाएका थिए । जर्मनीमा रहेका भाइ कुमारले दाइको मृत्युको खबर घर पठाएपछि परिवारले पुस २९ गते क्रियाकर्म समेत गरिसकेको वडाध्यक्ष गुरुङले बताए ।

गुरुङ दूधपोखरी गाउँपालिकाका वाईसीएल अध्यक्षसमेत बनेका थिए । रोजगारीका लागि भन्दै साढे तीन महिना अघि उनी रुसी सेनामा पुगेका थिए । उनको घरमा बुबा, आमा, श्रीमती र एक छोरा छन् ।

रुसी सेनामा भर्ना भएका १५ जना नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ । केही नेपाल युवाहरू युक्रेनी सेनाको कब्जामा समेत परेका छन् ।