चौधरी र थापालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

चौधरी र थापालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं । काठमाडौं जिल्ला अदालतले व्यवसायी अरुण चौधरीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उपस्थित गराइएका उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुमति दिएको हो ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सोही प्रकरणमा पक्राउ परेका छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई पनि ४ दिन नै हिरासतमा राखेर अनुमति दिएको छ ।

जुत्ता कारखानाको १० रोपनी जग्गा चौधरी समूहले आफ्नो कम्पनीको नाममा ल्याएको पाइएपछि सीआईबीले अनुसन्धान सुरु गरेको हो ।

प्रहरीले चौधरी ग्रुप अन्तरगतको सिजी होल्डिङका प्रबन्ध निर्देशक समेत रहेका अरुण चौधरीलाई बिहीबार राजधानीको लाजिम्पाटबाट पक्राउ गरेको हो । यस्तै छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष थापालाई बत्तीस पुतलीबाट पक्राउ गरेको जनाएको छ ।

यो प्रकरणमा अनुसन्धान गर्न तीन महिना अगाडि सीआईबीले एसपी होविन्द्र बोगटीको नेतृत्वमा एक कमिटी गठन गरेको थियो ।