आहारारा पोखरा गोल्डकप : इतिहास रच्ने दाउमा आर्मी र थ्रिस्टार

आहारारा पोखरा गोल्डकप : इतिहास रच्ने दाउमा आर्मी र थ्रिस्टार



पोखरा । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगितामा स्थापित छ आहा रारा पोखरा गोल्डकप । निरन्तरताका दृष्टिकोणले दुई दशक भन्दा बढी समयदेखि सञ्चालनमा छ । विसं २०५८ देखि सुरू प्रतियोगिता प्रतिकूल समयमा रोकिएन । नेपाली फुटबल इतिहासमा निरन्तर सञ्चालन भएकामा आहा रारा गोल्डकप पर्दछ ।

प्रतियोगिताको २३औँ संस्करणको फाइनल खेल भोलि हुँदैछ । उपाधिका लागि विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लब पोखरा रङ्गशालामा आमनेसामने हुँदैछन् ।

त्रिभुवन आर्मी क्लबले हालसम्म चार पटक प्रतियोगिताको फाइनल पुगेर पनि उपाधि विमुख छ । प्रतियोगितामा पाँचौँ पटक उपाधि नजिक पुगेको आर्मी शनिबार पोखराको मैदानमा ओर्लिदा उसको मुख्य लक्ष्य च्याम्पियन बनेर इतिहास रच्ने हुनेछ ।

थ्रिस्टार क्बल भने पोखराको मैदानमा भाग्यमानी टोलीमा पर्दछ । मनाङ मर्स्याङ्दी क्लबपछि आहा राराको सर्वाधिक धेरै उपाधि जित्ने टोली हो थ्रीस्टार । थ्रिस्टारले हालसम्म पाँच पटक उपाधि जितिसकेको छ भने शनिबार भोली छैटौँ उपाधिको खोजीमा हुनेछ र इतिहास रच्नेछ ।

थ्रीस्टार यसअर्थमा पनि भाग्यमानी छ भने उसले फाइनलमा पुगेर एक पटक मात्र उपाधि जित्न सकेको छैन । अन्य सबैमा सफलता पाएको छ । आर्मी यसअघि विसं २०६५, विसं २०६६, विसं २०७२ र विसं २०७५ मा प्रतियोगिताको फाइनल पुगेको थियो । चारैपटक उसले उपाधि जित्न सकेन । पछिल्लो पटक आर्मी र थ्रीस्टार विसं २०७५ मा फाइनलमा भिडेका थिए ।

तत्कालीन समयमा टाइब्रेकरमा थ्रीस्टार च्याम्पियन बनेको थियो । उपाधि भिडन्तमा पाँच वर्षपछि थ्रीस्टारसँग बदला लिने मौका आर्मीलाई छ । थ्रीस्टारले विसं २०६३, विसं २०६७, विसं २०६९, विसं २०७१ र विसं २०७५ मा प्रतियोगिताको उपाधि चुमेको छ ।

प्रतियोगितामा हालसम्म सात पटक फाइनल पुगेको थ्रीस्टार विसं २०७४ को १६औँ संस्करणमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । पोखरामा आफ्नो गौरवपूर्ण विरासतलाई निरन्तरता दिन चाहन्छ थ्रीस्टार । प्रतियोगितामा छैटौँ पटक उपाधि जित्दै सर्वाधिक सफल क्लबको पहिचान स्थापित गर्ने खोजीमा थ्रिस्टार हुनेछ ।

आर्मीका प्रशिक्षक मेघराज केसी विगतको इतिहासलाई विर्सदै नयाँ इतिहास रच्ने टोलीको सपना रहेको बताउँछन् । पोखराको मैदानमा उपाधि जितेर आर्मीका समर्थकलाई खुशी दिने आफ्नो योजना रहेको उनले सुनाए । ‘हामी इतिहास दोहोर्याउँदैनौँ, नयाँ इतिहास रचेर समर्थकलाई खुसी दिनेछौँ ।’

प्रशिक्षक केसीले फाइनल खेल रोमाञ्चक हुने उल्लेख गरे । टोलीमा केही इन्जुरीको समस्या रहेपनि खेलाडी पर्याप्त रहेको उनले बताए ।

थ्रिस्टार क्लबका प्रशिक्षक विक्रम लामाले सेमिफाइनलका कमीकमजोरी सुधार गर्दै उपाधि जित्ने गरी फाइनल खेलमा उत्रिने बताए । उपाधि जित्ने योजना बनाएको उनले उल्लेख गरे । प्रशिक्षक लामाले भने, ‘आर्मीको टोली संगठित छ, फाइनल खेल पक्कै गाह्राे हुनेछ तर हामी उपाधि चुम्ने गरी खेल्नेछौँ ।’

लामा आफू खेलाडी हुँदा जितेको उपाधिलाई प्रशिक्षक हुँदा निरन्तरता दिने उल्लेख गरे । पोखरामा जारी प्रतियोगितामा आर्मीले प्रीक्वाटरफाइनलमा राइजिङ स्टार फुटबल क्लब, क्वाटरफाइनलमा संकटा र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडलाई हराएर फाइनल पुगेको हो । थ्रीस्टारले भने उद्घाटन खेलमा आयोजक सहारालाई हरायो भने क्वाटरफाइनलमा भुटानको पारो फुटबल क्लब र सेमिफाइनलमा जावलाखेल युथ क्लबमाथि जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।

सहारा क्लब पोखराको आयोजनामा यही माघ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको च्याम्पियन टोलीले १२ लाख एक हजार नगदसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । उपविजेता टोलीले छ लाख एक हजार नगद सहित ट्रफी प्रदान गरिने क्लबका अध्यक्ष केशवराज बरालले बताए ।

यसैगरी विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजारका दरले पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछन् । प्रतियोगितामा एक विदेशी सहित १२ टोलीले प्रतिस्पर्धा गरेका थिए ।