काठमाडौँ । आन्तरिक राजश्व विभागको महानिर्देशकमा सहसचिव भूपाल बराल सरुवा भएका छन् । अर्थमन्त्री डा. प्रकाशरण महतले शुक्रवार राति मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख बराललाई विभागको नेतृत्व दिने निर्णय गरेका हुन् ।
विभागमा बराललाई पठाइएसँगै त्यहाँका महानिर्देशक दीर्घराज मैनालीलाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा ‘मिल्काइए’ को छ । नीतिगत रूपमा महत्त्वपूर्ण मानिएको भए पनि विभागीय नेतृत्व गरिसकेका व्यक्तिलाई कार्यालयमा सीमित गरिनुलाई ‘फालिए’ कै अर्थमा बुझ्नुपर्ने स्रोतले बतायो । पछिल्लो समय राजश्व असुली निराशाजनक अवस्थामा थियो । जसको दबाब अर्थमन्त्रीले झेल्दै आएका थिए ।
सचिव बढुवाको लाइनमा रहेका बराल पछिल्लो केही समययता विभागतिर जानेहरूको चर्चा सूचीमा पर्दै आएका थिए । करिब आधा दर्जन सहसचिवस्तरकै नेतृत्व गर्ने आन्तरिक राजश्व विभागको महानिर्देशक नेपालका आकर्षक मानिएको विभागीय प्रमुखमध्ये पहिलो मै पर्छ ।
यसैगरी त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख डा. टोकराज पाण्डेलाई मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिँदै त्यहाँ भन्सार विभागका उपमहानिर्देशक शेवन्तक पोखरेललाई पठाइएको छ । भन्सारमै रमाउँदै आएका पोखरेलको दुई पटक सरुवा रोकाएर तेस्रो गन्तव्य बनाइयो विमानस्थल । पोखरेलको ठाउँमा आन्तरिक राजस्व विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डेयलाई पठाइएको छ ।
मन्त्री डा. महतले पाण्डेलाई प्रशासन महाशाखा प्रमुखमा भित्र्याएसँगै त्यहाँका सहसचिव महेश आचार्यलाई आर्थिक नीति विश्लेषण महाशाखातिर पठाइएको छ । महाशाखा प्रमुख बाबुराम सुवेदी अनिवार्य अवकाश भएसँगै रिक्त ठाउँमा आचार्यको व्यवस्थापन गरिएको हो ।


प्रतिक्रिया